नेप्से सूचकांक पुनर्संरचना गर्दै सेबोन, कारोबारयोग्य सेयरका आधारमा नयाँ बेञ्चमार्क बनाइने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारको वास्तविक अवस्था मापन गर्न नयाँ आधारभूत सूचकांक ल्याउने तयारी गरेको छ। कारोबारमा उपलब्ध सेयरको बजार पुँजीकरणलाई आधार बनाएर नयाँ सूचकांक विकास गर्न बोर्डले ‘बेञ्चमार्क सूचकांकको पुनर्संरचनासम्बन्धी कार्यपत्र, २०८३’ तयार पारेको हो।

अर्थ मन्त्रालयले जारी गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनामा समेत बेञ्चमार्क सूचकांकको विषय समेटिएको छ। बोर्डले हालको नेप्से परिसूचकलाई यथावत् राख्दै त्यसलाई समग्र सेयरको मूल्य मापन गर्ने ‘नेप्से अल इक्विटी इन्डेक्स’ का रूपमा पुनर्संरचना गर्ने प्रस्ताव गरेको छ।

हालको नेप्से परिसूचकमा दैनिक कारोबारमा उपलब्ध नहुने संस्थापक, सरकारी स्वामित्वका तथा लक–इनमा रहेका सेयरको बजार पुँजीकरणसमेत समावेश हुन्छ। यस्ता सेयर बजारमा कारोबार गर्न उपलब्ध नहुँदा परिसूचकले कारोबारयोग्य सेयरको वास्तविक अवस्था पूर्ण रूपमा प्रतिबिम्बित नगर्ने बोर्डको ठहर छ।

यसको विकल्पमा कारोबारयोग्य फ्री–फ्लोट सेयरको बजार पुँजीकरणमा आधारित नयाँ बेञ्चमार्क सूचकांक बनाइनेछ। त्यसका लागि संस्थापक, सरकारी स्वामित्वका र लक–इनमा रहेका सेयर छुट्याएर कारोबारयोग्य हिस्साका आधारमा निश्चित फ्री–फ्लोट फ्याक्टर लागू गरिनेछ।

बोर्डले प्रस्तावित सूचकांकलाई प्रारम्भिक रूपमा ‘नेपाल स्टक एक्सचेन्ज फ्री–फ्लोट बेञ्चमार्क इन्डेक्स’ (एनएफएफबीआई) वा ‘नेप्से बेञ्चमार्क इन्डेक्स’ (एनबीआई) नाम दिन सकिने जनाएको छ। नाम छनोटका लागि नेप्सेसँग आवश्यक परामर्श गर्न सकिने कार्यपत्रमा उल्लेख छ।

बोर्डले प्रस्तावित कार्यपत्रमा २०८३ कार्तिक १५ भित्र सुझाव दिन सम्पूर्ण सरोकावालालाई अनुरोध गरेको छ।

नयाँ सूचकांक कार्यान्वयनमा आएपछि बजारको अवस्था मापन थप यथार्थपरक हुने बोर्डको अपेक्षा छ। साथै, इन्डेक्स फन्ड, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) र डेरिभेटिभ्सजस्ता आधुनिक वित्तीय उपकरण विकास गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *