एनपीएल आजबाट, के के छ नयाँ ?

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजन आज सोमबारबाट शुरु हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा झण्डै १ महिना चल्ने यो प्रतियोगिता नेपाली क्रिकेटको मात्र नभएर समग्र खेलकुदकै सर्वाधिक ठुलो प्रतियोगिता बन्न पुगेको छ । विराटनगर किंग्स, जनकपुर बोल्टस्, काठमाडौँ गोर्खाज्, चितवन राइनोज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदुरपश्चिम रोयल्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । खेल साँझ ५ बजे शुरु हुने छ । त्यसअघि उद्घाटन समारोह हुने छ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने तय भएको छ ।

के के छन् यसपटकका विशेषता ?

आयोजनाको ३ बर्ष मात्र पुग्दै गरेको भए पनि एनपीएलले सफलताको ठूलो उचाइ हासिल गरेको छ । सामान्य अवस्थामा रहेको कीर्तिपुर मैदानको स्तरोन्नती, प्यारापिट निर्माण, कृतिम प्रकाश (फ्लड लाइट), जस्ता संरचनागत सुधारमा होस् वा डिसिजन रिभ्यू सिस्टम जस्तो पछिल्लो प्रविधी र आइृसीसीको मान्यता र विदेशी खेलाडीको आकर्षण जस्ता हरेक कुरामा एनपीएलले उचाइ हासिल गरेको छ ।

१) आईसीसीको मान्यता

अन्तराष्ट्रिय क्रिकेटको सर्वोच्च निकाय आईसीसीले एनपीएललाई मान्यता यसै बर्ष दिएको छ । यसका कारण विदेशी खेलाडीको आकर्षण अझ बढेको छ भने खेलाडीको स्कोरले गणनाको मान्यता पाउने भएको छ । यो एनपीएलको ठुलो सफलता हो । जसले एनपीएललाई विश्वब्यापी बनाउन अझ मद्दत गरेको छ ।

२) डीआरएस

डीसीजन रिभ्यू सिस्टम अर्थात् अम्पायरले गरेको निर्णय सही भए नभएको कुरा रिभ्यू गरेर स्क्रिनमा फुटेज हेरेर गरिने निर्णय । यो क्रिकेटका अन्तराष्ट्रिय र ठुला प्रतियोगितामा उपलब्ध पछिल्लो उच्चस्तरीय प्राविधिक प्रणाली हो । एनपीएलले यसपटक यो प्रणालीलाई अबलम्बन गरेको छ । जसका कारण अम्पायरका निर्णयको सत्यता बढ्ने छ ।

३) चर्चित खेलाडीको आगमन

यसपटक डेभिड मिलर, आन्द्रे रसेल, डेभिड वार्नर, सकिब अल हसन, साहिबजादा फरहान जस्ता विश्व क्रिकेटमा तहल्का मच्चाएका खेलाडी एनपीएलमा अनुबन्ध भएका छन् । यस्तै, मोइन अलि, र रबि भोपारा, ब्रान्डन म्याकमलेन, शेरफन रदफोर्ड, फाबियन एलेन लगायत खेलाडी यसपटक पनि एनपीएल खेल्नेछन् ।

पुरस्कार राशीमा बृद्धि

प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यस्तै दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमशः ८० लाख, ४० लाख र ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस सिजन प्रायोजनबाट २० करोड र टिकटिङ तथा प्रसारण अधिकारबाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेको र प्रतियोगिता अवधिभर एनपीएलको कुल आम्दानी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको क्यानले जनाएको छ ।

उद्घाटन खेल

एनपीएलको तेस्रो सिजनको उद्घाटन खेल गत बर्षका फाइनलिस्ट टोली लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्ने छन् । जुन खेलमा सुदुरपश्चिमलाई हराउँदै लुम्बिनी च्याम्पियन भएको थियो । त्यसैले आज लुम्बिनी गत सिजनको उपाधि रक्षा गर्ने दाउमा हुनेछ भने पछिल्ला दुई सिजनमा फाइनलमा पराजित रहेको सुदुरपश्चिम लुम्बिनीसँगको गत सिजनको फाइनलको हार बिर्सने ध्याउन्नमा हुनेछ ।

लुम्बिनीको नेतृत्व राष्ट्रिय टोलीको पूर्वकप्तान रोहित पौडेलले गर्नेछन् । यस्तै नेपालको टी ट्वान्टी टोलीको नेतृत्व गरेका दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदुरपश्चिम रोयल्स हुनेछ । रोचक कुरा के छ भने दीपेन्द्र पहिलो सिजन र रोहित दोस्रो सिजन एनपीएलको उत्कृष्ट नेपाली खेलाडी बन्दै कार पुरस्कार पाएका थिए । नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेख थपेको लुम्बिनीले गत सिजनकै अधिकांश खेलाडीलाई निरन्तरता दिएको छ ।

यस्तै विदेशी खेलाडीका रुपमा रहेका श्रीलंकाका निरोशन डिकवेला, अस्ट्रेलियाका डी आरसी शर्ट, नामिबियाका रुबेन ट्रम्पलमनसँगै बंगलादेशका सामिम हुसेन र अमेरिकाका साड्ली भान स्काल्कविक थपिएका छन् ।

यसैगरी, सुदुरपश्चिमले इंग्ल्यान्डका सैफ जैबलाई पुन टोलीमा फर्काएको छ । उनी गत बर्ष चितवनबाट खेलेका थिए । यस्तै टोलीबाट यसपटक वेस्ट इन्डिजका ब्याटर शेरफन रदफोर्ड, अलराउन्डर फाबियन एलेन, न्युजिल्यान्डका स्कट कुग्लेइन, स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमलेन रहनेछन् । त्यसैले पनि प्रतियोगिताको उद्घाटन खेल रोमाञ्चक हुने विश्वास गरिएको छ ।

पाकिस्तानी खेलाडीको एनपीएलमा सहभागिता अनिश्चत

यसैबिच पाकिस्तानी खेलाडीको एनपीएलमा सहभागिता भने अनिश्चत भएको खबर आएको छ । खेल अनलाइन क्रिकइन्फोले पाकिस्तान क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गर्ने विषयमा अन्योल भएको र एनओसी पाइसकेका खेलाडीलाई समेत तत्काल एनपीएलमा सहभागि हुन अनुमति नदिइएका कारण पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित बनेको खबर प्रकाशित गरेको छ ।

लिगसँग सम्बन्धित व्यक्तिहरूका अनुसार पीसीबीले पाकिस्तानी खेलाडीलाई एनओसी दिन प्रतिखेलाडी करिब २५ हजार अमेरिकी डलर बुझाउनुपर्ने शर्त राखिएको समाचारमा उल्लेख छ । एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीमा राष्ट्रिय टी–२० टोलीका कप्तान साहिबजादा फरहान, हैदर अली, हुनेन शाह, हुसेन तलत, इफ्तिखार अहमद, हसन अली र उसामा मिरलगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *