हिम पर्वत हाइड्रोपावरको आईपीओ बुधबारदेखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले भर्न पाउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले कात्तिक ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २१ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी एक अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुने सेयरमध्ये पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चार लाख २२ हजार ५०० कित्ता छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दाले पाउनेछन्। दोलखाको बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ लाई अति प्रभावित क्षेत्र तोकिएको छ। बाँकी ६ लाख ७६ हजार कित्ता ती दुई गाउँपालिकाका अन्य वडाका स्थानीयका लागि छुट्याइएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले कात्तिक २५ गतेसम्म र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने कात्तिक १६ गतेसम्म र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *