एनपीएलमा बेटिङ र म्याच फिक्सिङ रोक्न प्रहरी परिचालन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गर्ने भएको छ। प्रतियोगितामा हुन सक्ने अनलाइन बेटिङ, म्याच फिक्सिङ तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीका विशेष टोली परिचालन गरिने भएको हो।

सम्भावित म्याच फिक्सिङमाथि निगरानी गर्न प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरीसमेत खटिनेछन्। सादा पोसाकका प्रहरी, डिजिटल निगरानी, तालिमप्राप्त कुकुर र ड्रोनमार्फत रंगशाला क्षेत्रमा सुरक्षा जाँच तथा निगरानी गरिनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा एक हजार १२५ प्रहरी परिचालन गर्ने तयारी छ। त्रिवि क्रिकेट मैदानको बाहिरी सुरक्षा घेरामा सशस्त्र प्रहरीसमेत खटाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। खेलाडी बस्ने होटलमा पनि सुरक्षा व्यवस्था मिलाइएको छ।

शनिबार सुरक्षा अधिकारी र नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीबीच भएको छलफलमा खेलाडीको सुरक्षा, दर्शक व्यवस्थापन र पार्किङबारे चर्चा भएको थियो। विगतका संस्करणमा देखिएका पार्किङ तथा टिकटसम्बन्धी विवाद दोहोरिन नदिन प्रहरीले टिकट बिक्री र वितरणबारे समयमै पारदर्शी सूचना सार्वजनिक गर्न क्यानलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *