काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जा प्रवाहले गति लिन नसक्दा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। कात्तिकका लागि सार्वजनिक नयाँ ब्याजदरअनुसार अधिकांश बैंकले व्यक्तिगत तथा संस्थागत निक्षेपको दर घटाएका छन्। तर, एभरेष्ट बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर बढाएको छ।
कात्तिकका लागि २० वाणिज्य बैंकको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असोजको ४.०८९५ प्रतिशतबाट घटेर ४.०१३ प्रतिशतमा झरेको छ। यो अघिल्लो महिनाको तुलनामा ०.०७६५ प्रतिशतविन्दुको गिरावट हो। संस्थागत निक्षेपको औसत ब्याजदर पनि ३.०६६५ प्रतिशतबाट घटेर ३.००३ प्रतिशत कायम भएको छ। यसमा ०.०६३५ प्रतिशतविन्दुको कमी आएको छ।
व्यक्तिगत निक्षेपमा सानिमा, एनएमबि र माछापुच्छ्रे बैंकले सबैभन्दा बढी ४.५ प्रतिशत ब्याजदर कायम गरेका छन्। यसको विपरीत नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर सबैभन्दा धेरै ०.८ प्रतिशतविन्दुले घटाएको छ। बैंकले असोजमा ४.५ प्रतिशत रहेको दरलाई कात्तिकमा ३.७ प्रतिशतमा झारेको हो। संस्थागत निक्षेपको ब्याजदर पनि ०.५ प्रतिशतविन्दुले घटाएर ३ प्रतिशत कायम गरिएको छ।
नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशतमा झारेको छ। संस्थागत निक्षेपको दरसमेत ०.२६ प्रतिशतविन्दुले घटाएर २.७५ प्रतिशत कायम गरेको छ। प्रभु बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.३ प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशत बनाएको छ भने नेपाल एसबिआई बैंकले ०.१ प्रतिशतविन्दुले घटाएर ४ प्रतिशत कायम गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले पनि क्रमशः ०.०५ र ०.०३ प्रतिशतविन्दुले दर घटाएका छन्।
ब्याजदर घटाउने क्रमबीच एभरेष्ट बैंकले भने व्यक्तिगत निक्षेपको दर ०.२५ प्रतिशतविन्दुले बढाएर ३.७५ प्रतिशत पुर्याएको छ। बैंकले संस्थागत निक्षेपको ब्याजदर भने ३.२५ प्रतिशतमा यथावत् राखेको छ। हिमालयन बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४ प्रतिशतमा स्थिर राखे पनि संस्थागत निक्षेपको दर ०.२५ प्रतिशतविन्दुले घटाएर ३.२५ प्रतिशत कायम गरेको छ।
उपलब्ध विवरणअनुसार १३ बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर परिवर्तन गरेका छैनन्। सानिमा, एनएमबि र माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत ब्याजदर कायम राखेका छन्। कृषि विकास बैंक र नेपाल बैंकले ४.१५ प्रतिशत तथा लक्ष्मी सनराइज, नेपाल एसबिआई, हिमालयन, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकले ४ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्। सिटिजन्स बैंकले ३.८५ प्रतिशत र सिद्धार्थ बैंकले ३.७६ प्रतिशत कायम गरेका छन्।
निक्षेपको औसत ब्याजदरमा आएको गिरावटले बचतकर्ताले बैंकमा रकम राखेर पाउने प्रतिफल थप घट्ने संकेत गरेको छ। विशेषगरी मुद्दती निक्षेपको ब्याज आम्दानीमा निर्भर बचतकर्ता र ज्येष्ठ नागरिक यसबाट प्रभावित हुन सक्छन्। तर, ब्याजदर घटेको भन्दै सबै प्रकारका निक्षेपको प्रतिफल समान रूपमा घटेको भने होइन। बैंकअनुसार निक्षेपको अवधि, रकम र खाताको प्रकृतिअनुसार ब्याजदर फरक हुन सक्छ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता र कर्जाको मागमा सुस्तता कायम रहँदा निक्षेप जुटाउन उच्च ब्याजदर दिनुपर्ने दबाब कम भएको देखिन्छ। त्यसैले बैंकहरूले निक्षेपको लागत घटाउने रणनीति अपनाइरहेका छन्। यद्यपि, ब्याजदरमा आएको गिरावटले कर्जाको ब्याजदरमा कस्तो प्रभाव पार्छ भन्ने कुरा बैंकहरूको आधार दर र कर्जासम्बन्धी नीतिमा निर्भर हुनेछ।
कात्तिकमा कुन बैंकको ब्याजदर कति ?
| क्र.सं. | वाणिज्य बैंक | ब्याजदर (%) |
|---|---|---|
| १ | सानिमा बैंक | ४.५० |
| २ | एनएमबी बैंक | ४.५० |
| ३ | माछापुच्छ्रे बैंक | ४.५० |
| ४ | प्रभु बैंक | ४.२५ |
| ५ | कृषि विकास बैंक | ४.१५ |
| ६ | नेपाल बैंक | ४.१५ |
| ७ | लक्ष्मी सनराइज बैंक | ४.०० |
| ८ | नेपाल एसबीआई बैंक | ४.०० |
| ९ | हिमालयन बैंक | ४.०० |
| १० | एनआईसी एसिया बैंक | ४.०० |
| ११ | राष्ट्रिय वाणिज्य बैंक | ४.०० |
| १२ | प्राइम कमर्सियल बैंक | ४.०० |
| १३ | ग्लोबल आईएमई बैंक | ४.०० |
| १४ | सिटिजन्स बैंक | ३.८५ |
| १५ | सिद्धार्थ बैंक | ३.७६ |
| १६ | नबिल बैंक | ३.७५ |
| १७ | एभरेस्ट बैंक | ३.७५ |
| १८ | नेपाल इन्भेस्टमेन्ट मेगा बैंक | ३.७० |
| १९ | स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल | ३.७० |
| २० | कुमारी बैंक | ३.७० |





