काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर नेपाली नागरिकको मृत्यु भएपछि नेकपा एमालेले दुःख व्यक्त गरेको छ। पार्टीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ।
एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटनाको निन्दा गरेका छन्।
‘निर्दोष नागरिकको ज्यान जाने गरी हुने यस्ता हिंसात्मक घटनाहरू मानवता र मानवीय मूल्य–मान्यताविपरीत छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी सदैव विश्व शान्तिका पक्षमा छौँ र यस्ता अमानवीय घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछौँ।’
नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद र चिन्ताजनक रहेको एमालेले जनाएको छ। साथै, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा र हित सुनिश्चित गर्न आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ।





