पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक ३ अर्ब ४५ कराेड घाटा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावको दबाब नेपाल आयल निगममाथि परेको छ। उपभोक्तालाई राहत दिने भन्दै निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखे पनि १५ दिनमै ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने देखिएको छ।

निगमले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार, इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट असोज २९ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने अवस्था थियो। तर, उपभोक्तालाई राहत दिने उद्देश्यले हाल कायम बिक्री मूल्यमै कारोबार गर्ने निर्णय गरिएको निगमले जनाएको छ।

निगमले सार्वजनिक गरेको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम छ।

त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ।

हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर २४९ रुपैयाँ तोकिएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम छ।

बिक्री मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *