६ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीहरू कालोसूचीमा, कसलाई कति वर्षसम्म?

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय, केशरमहल, काठमाडौँले विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।

सार्वजनिक निकायहरूबाट लेखी आएबमोजिम यस कार्यालयको २०८३ साल असोज २८ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी विभिन्न अवधिका लागि उनीहरूलाई कालोसूचीमा राखिएको हो।

कार्यालयका अनुसार मिथिला नगरपालिका, धनुषाको सिफारिसमा जनकपुर–१८ स्थित एस.एन.एस.एम.सि.जे.भि. र मरबैता कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त जेभीका मुख्य व्यक्तिमा दीपेन्द्रकुमार यादव र शम्भू मरबैता रहेका छन्।

त्यस्तै, पशुपन्छी विकास निर्देशनालय, सुर्खेतको सिफारिसमा कैलालीको लम्कीचुहा–१ स्थित नागवंशी कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त कम्पनीका मुख्य व्यक्ति दुर्गाबहादुर बडवाल हुन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचना प्रविधि शाखाको सिफारिसमा काठमाडौँस्थित इन्फो डेभलपर्स प्रालि, भुपदी टेक्नो सर्भिसेस र एभरेस्ट टेलिकम एन्ड आइटी सर्भिस सम्मिलित जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त जेभीसँग सम्बन्धित मुख्य व्यक्तिमा उमेश रघुकुवंशी, दीपक मेका र दीपक श्रेष्ठ रहेका छन्।

यसैगरी, पर्वतको पैयूँ गाउँपालिकाको सिफारिसमा पैयूँ–६ स्थित किङ्गस कन्स्ट्रक्सन प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। कम्पनीका मुख्य व्यक्ति निरजप्रसाद तिवारी हुन्।

सडक विभागअन्तर्गत हाइवे व्यवस्थापन सूचना प्रणालीको सूचना तथा सञ्चार प्रविधि शाखाको सिफारिसमा ललितपुरको भैंसेपाटीस्थित शुभश्री टेक्नोलोजिज प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त कम्पनीकी मुख्य व्यक्ति बिनुषा श्रेष्ठ हुन्।

त्यसैगरी, सडक डिभिजन भक्तपुरको सिफारिसमा काठमाडौँको बूढानीलकण्ठ–२ स्थित कान्तिपुर इन्फ्रास्ट्रक्चर एन्ड सप्लायर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। कम्पनीका मुख्य व्यक्ति इन्द्रबहादुर थापा रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *