सरकारको बेवास्ताले रियल स्टेट क्षेत्र प्रभावित हुँदा अर्थतन्त्रमा समस्या बढ्यो: व्यवसायी मल्होत्रा 

काठमाडौं । रियल स्टेट क्षेत्र चलायमान नहुँदा सिंगो अर्थतन्त्रमा समस्या आएको व्यवसायीहरुले बताएका छन् ।

व्यवसायी दिपक मल्होत्राले घरजग्गा अर्थात रियल स्टेट व्यवसायलाई विभिन्न नीतिगत समस्या र बैंकिङ प्रक्रिया झन्झटिलो हुँदा व्यवसाय चलायमान हुन नसकेको र त्यसको असर सिंगो अर्थतन्त्रमा देखिएको बताए ।

‘रियल स्टेटमा आएको कमी कमजोरी अर्थात व्यवसाय चलायमान नहुँदा सबै क्षेत्रमा चेन इफेक्ट देखिएको छ । घर वा भौतिक संरचना बनाउँदा रड, सिमेन्ट वा अन्य सामग्रीहरुको कारोबार नहुने भएकाले त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको छ । यो व्यवसायलाई राष्ट्र बैंकले पनि प्राथमिकतामा राखेन । लोन टु भ्यालु रेसियो ७० प्रतिशत न्यूनतम राख्नुपर्छ भन्यौं । उहाँहरुले गर्नुपनि भयो तर केही शब्दका कारण कार्यान्वयनमा आएन । त्यसपछि कुनैपनि निकायले रियल स्टेटलाई प्राथमिकतामा राखेन,’ उनले भने,‘म दाबीका साथ भन्छु अझैपनि रियल स्टेट क्षेत्रलाई वेवास्ता गरिए सिंगो देशको अर्थतन्त्र गम्भीर असर पर्नेछ ।’

आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’को पूर्वसन्ध्यामा विहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले घरजग्गामा लागू गरिएको हदबन्दीका कारण व्यवसायीहरु ठूलो मारमा परेको उल्लेख गर्दै सरकारले आश्वासन मात्र दिएको बताए ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुकुमार घिमिरेले महाविपत्तिपछि क्षतिग्रस्त भएका घरहरुको पुनःनिर्माणमा आधुनिक प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गर्दै सरकारले रियल स्टेट क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *