महिला हिंसाका आरोपी सुनारलाई नाम फिर्ता लिन सांसदहरूको सुझावपछि भने – मलाई अन्याय हुन्छ

काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारलाई संसदीय सुनुवाइका क्रममा सांसदहरूले आफ्नो नाम फिर्ता लिन सुझाव दिएका छन्। महिला हिंसासहित गम्भीर आरोप सार्वजनिक भएको र नैतिक आचरणमाथि प्रश्न उठेको भन्दै सांसदहरूले उनलाई राजदूतका रूपमा सिफारिस गर्न कठिन हुने बताएका हुन्।

संसदीय सुनुवाइका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहरा र नेकपाका सांसद वर्षमान पुनलगायतले सुनारलाई नाम फिर्ता लिन आग्रह गरेका थिए। सांसद बोहराले आफूविरुद्ध यस्ता आरोप लाग्न सक्ने जानकारी हुँदाहुँदै राजदूत पदमा आवेदन दिनुको औचित्यमाथि प्रश्न उठाए।

‘यस्ता कुरा आउँछन् भन्ने थाहा पाउँदापाउँदै किन एप्लाइ गरेको हो ? एप्लाइ नै नगरेको भए हुन्थ्यो,’ बोहराले भने।

नेकपा एमालेकी सांसद पद्मा अर्यालले पनि सुनारले श्रीमती हुँदाहुँदै अर्की महिलासँग सम्बन्ध रहेको कुरा स्वीकार गरेको भन्दै आपत्ति जनाइन्। उनले व्यक्तिगत आचरण र नैतिक चरित्रमाथि प्रश्न उठिरहेका बेला उनलाई राजदूतका रूपमा सिफारिस गर्न नसकिने बताइन्।

‘यो नैतिक चरित्र हो। यी प्रश्नले तपाईंलाई राजदूतका रूपमा कसरी सिफारिस गर्न सक्छौँ ?’ अर्यालले प्रश्न गरिन्।

सांसदहरूले आरोप र नैतिक आचरणसम्बन्धी प्रश्न उठाएपछि सुनारले भने आफूले महिला हिंसा नगरेको दाबी गरे। ती महिलासँग टेलिफोनमा भनाभन भएको स्वीकार गर्दै उनले आफूमाथि पनि कुटपिटको प्रयास भएको र आफूलाई ब्ल्याकमेलिङ गरेर पैसा मागिएको आरोप लगाए।

‘ममाथि मान्छे लगाएर पिट्ने, मार्ने पनि प्रयास गरिएका छन्। पुरुषमाथि पनि हिंसा भएको छ। जातीय हिंसा भएको छ,’ उनले सुनुवाइका क्रममा भने।

आफ्नो दाबी पुष्टि गर्न ती महिलासँग भएका इमेल आदानप्रदानका विवरण र अन्य प्रमाण प्रस्तुत गर्न सक्ने सुनारको भनाइ थियो। उनले आफूलाई ब्ल्याकमेलिङ गरिएको र पैसा मागिएको विषयमा प्रमाण रहेको दाबी गर्दै आवश्यक परे आफ्नो इमेल खाता नै उपलब्ध गराउन तयार रहेको बताए।

‘विश्वास लाग्दैन भने मेरो इमेल एकाउन्ट पनि यहाँहरूलाई दिन तयार छु। आफैँ खोल्न सक्नुहुन्छ, आफैँ हेर्न सक्नुहुन्छ। मैले महिला हिंसा गरेको छैन,’ उनले भने।

ती महिलासँग फोनमा भनाभन भएको विषयमा आफू सजाय भोग्न तयार रहेको सुनारले बताए। तर, एक पक्षको आरोपकै आधारमा आफूलाई राजदूतका लागि अयोग्य ठहर गर्न नहुने उनको तर्क थियो।

‘जोख्दाखेरि तराजु बराबर हुनुपर्छ। एकोहोरो महिला रुँदैमा राजदूतका लागि अयोग्य छ, तपाईंहरूले छोड्नुस् भन्नुभयो भने म मान्दिनँ,’ सुनारले भने।

संसदीय सुनुवाइका क्रममा सांसदहरूले सुनारको व्यक्तिगत आचरण र उनीमाथि उठेका आरोपलाई राजदूत पदका लागि योग्यताको प्रश्नसँग जोडेर उठाएका छन्। सुनारले भने आफूमाथिका आरोप अस्वीकार गर्दै निष्पक्ष रूपमा दुवै पक्षका प्रमाण हेर्नुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *