काठमाडौँ । आईपीओ अनुमतिका लागि थप ४ वटा जलविद्युत कम्पनीहरुले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डमा साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड, पिस इनर्जी कम्पनी लिमिटेड, युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेड र मुनलाइट हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति माग गर्दै आवेदन दिएका हुन् ।
सशा इन्जिनियरिङ हाइड्रोले ३१ लाख कित्ता सेयर निष्काशनको अनुमति माग गर्दै असोज ७ गते बोर्डमा आवेदन दिएको हो । यसको इस्यू म्यानेजरमा एनआईएमबी एस क्यापिटल रहेको छ ।
यस्तै, पिस इनर्जीले ३२ लाख कित्ता साधारण सेयर जारीको अनुमति माग गरेको छ । कम्पनीले पनि असोज ७ गते नै आवेदन दिएको हो । यसको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ ।
युनिटेक हाइड्रोपावर कम्पनीले १९ लाख ७० हजार कित्ता सेयर निष्काशनको अनुमति माग गर्दै असोज ७ गते बोर्डमा आवेदन दिएको हो । यसको इस्यू म्यानेजरमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
यसैगरी, मुनलाइट हाइड्रोपावर कम्पनीले ९२ लाख ४१ हजार ४२६ कित्ता सेयर निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले धितोपत्र बोर्डमा असोज १६ गते आवेदन दिएको हो । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
योसँगै सेयर निष्काशनको अनुमति माग गर्दै सेबोनको पाइपलाइनमा रहेका हाइड्रो कम्पनीको संख्या ३९ पुगेको छ ।





