काठमाडौं । लाभांश वितरण, वार्षिक साधारणसभा र बुक क्लोजसम्बन्धी निर्णय समयमै जानकारी नगराएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कम्पनीलाई तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्नसमेत निर्देशन दिएको छ ।
नेप्सेका अनुसार कम्पनीको सञ्चालक समितिको बैठक असोज २६ गते दिउँसो साढे ३ बजे बसेको थियो । बैठकले वार्षिक साधारणसभा, बुक क्लोज तथा लाभांश वितरणसम्बन्धी निर्णय गरेको भए पनि त्यसको जानकारी नेप्सेलाई भोलिपल्ट असोज २७ गते साँझ ५ बजेर ५९ मिनेटमा मात्रै गराइएको थियो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सूचना, जानकारी तथा निर्णय सिर्जना हुनासाथ सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
तर कम्पनीले निर्धारित समयसीमाभित्र जानकारी नदिएको भन्दै नेप्सेले उक्त विनियमावलीअनुसार धितोपत्र कारोबार स्थगन गरेको जनाएको छ ।
नेप्सेले पत्र प्राप्त भएको मितिले तीन कार्यदिनभित्र सूचना समयमै उपलब्ध नगराउनुको कारण खुलाएर स्पष्टीकरण पेस गर्न कम्पनीलाई निर्देशन दिएको छ ।





