काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले समिति गठन गरेको छ ।
रानीपोखरीका एआईजी सुशील सिंह राठौरका अनुसार एसएसपी रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरिएको हो। समितिलाई पाँच दिनको समय दिइएको छ ।
रिद्धीसिद्धी यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्। काभ्रे घर भएका लामालाई प्रहरीले उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको थियो। उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
चालक र ट्राफिक प्रहरीबीच विवादपछि बसमा आगो लागेको र चालकले नै आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ। घटनाको वास्तविक कारण छानबिनपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।




