खगेन्द्र सुनारमाथि छानबिन गर्न अनुशासन आयोगलाई निर्देशन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित सार्वजनिक समाचार, श्रव्यसामग्री र उठेका प्रश्नबारे आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीले छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा उक्त विषयको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ।

छानबिन प्रक्रियालाई प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको पार्टीले जनाएको छ।

रास्वपाले महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता गम्भीर विषयमा शून्य सहनशीलताको नीति रहेको जनाएको छ।

त्यस्तै, राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धानमा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत काम गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *