काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो समय नीति निर्माणका लागि भुइँ तहबाटै सरोकारवालाहरूको आवाज सुन्ने उद्देश्यले ‘शिक्षा संवाद’ कार्यक्रमलाई तीव्र बनाएको छ ।
यसअघि मधेश प्रदेशमा आयोजना गरिएको उक्त संवादको निरन्तरता स्वरूप आज (सोमबार) बुटवलमा ‘शिक्षा संवाद (भाग २ – लुम्बिनी प्रदेश छलफल)’ सम्पन्न भएको हो ।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रीका राजनीतिक सल्लाहकार सरोज गौतम, प्रमुख शिक्षा सल्लाहकार शैलेन्द्र झा, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. दिनेशमणि घिमिरे, एन.प्याब्सनका अध्यक्ष सुभाष न्यौपाने, प्याब्सन केन्द्रीय समितिका महासचिव आर.बी. कटुवाल र शिक्षा समन्वय इकाइ बुटवलका प्रमुख विष्णु पन्थी प्यानलिस्टको रूपमा सहभागी थिए ।
कार्यक्रममा बोल्दै मन्त्रालयका राजनीतिक सल्लाहकार सरोज गौतमले नयाँ आउन लागेको शिक्षा ऐन पूर्ण रूपमा विद्यार्थीलाई केन्द्रमा राखेर निर्माण गरिने प्रतिबद्धता जनाए ।
उनले भने, ‘हामीले ल्याउन लागेको शिक्षा ऐनको मूल केन्द्र नै विद्यार्थी हुन्। समयसापेक्ष, व्यावहारिक र सिर्जनशील शिक्षा प्रणाली स्थापना गर्नका लागि ऐनमा नवप्रवर्तन र सिर्जनशीलतालाई विशेष प्राथमिकता दिइनेछ ।’
यस्तै, शिक्षा मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झाले नीति निर्माणमा भुइँ तहका सुझावहरूको अहम् भूमिका रहने बताए ।





