आजदेखि ११ वटा केन्द्रबाट फरक कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने

काठमाडौं । दसैंका बेला उपभोक्तालाई ग्यास सिलिन्डर साटफेर गर्न सहज होस् भन्ने उद्देश्यले नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यास साटफेर केन्द्रको संख्या बढाएर ११ पुर्‍याएको छ ।

आइतबारदेखि ६ वटा बिक्री केन्द्रबाट सुरु गरिएको सेवा सोमबारदेखि थप पाँच स्थानमा विस्तार गरिएको संघले जनाएको छ । नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा उक्त व्यवस्था मिलाइएको हो ।

संघका अनुसार सोमबारदेखि थपिएका केन्द्रमा बुढानीलकण्ठको चपलीस्थित भानु ग्यास, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास, कलंकीमा गीता ग्यास, खसीबजारस्थित आरके ट्रेडर्समा सीताश्री ग्यास तथा सतुंगलमा श्रीमाया ग्यास रहेका छन् ।

यसअघि आइतबारदेखि नै ललितपुरको हरिसिद्धिमा श्रीराम, कलंकीमा साइबाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास साटफेर भइरहेको छ । त्यसैगरी, बालाजु औद्योगिक क्षेत्र गेट अगाडि (नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास), पेप्सीकोला (सगर ग्यास) र सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट (एभरेस्ट र सुगम ग्यास) लिन सकिने व्यवस्था मिलाइएको छ ।

यो साटफेर हुने समय पनि संघले एक दिन घटाएको छ । असोज ३० गतेसम्म मात्र पाइने र उपभोक्ताले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तोकिएका केन्द्रहरूमा गएर ग्यास लिन सक्नेछन् ।

यसअघि संघले असोज ३१ गतेसम्म बिहान ९ : ३० बजेदेखि सेवा दिने सूचना जारी गरे तापनि हाल उक्त समयतालिका परिमार्जन गरिएको हो । साथै, तोकिएका यी ११ वटा केन्द्रबाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीको सिलिन्डर साट्न नमिल्ने जानकारी गराइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *