काठमाडौँ । बडादसैंको अवसरमा काठमाडौँ उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
प्रहरीले दसैंमा यात्रुको सहजताका लागि उपत्यकाका तीन रूटमा मंगलबारदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको हो। बस सेवा विजया दशमीको दिन बुधबार पनि सञ्चालन हुनेछ।
रूट नम्बर १ नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किनेछ।
रूट नम्बर २ नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ।
रूट नम्बर ३ नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुन: नक्सालमा फर्किनेछ।
दुई दिनका लागि सञ्चालित निःशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
नि:शुल्क बस सेवा पहिलो सिफ्टअन्तर्गत आज अपराह्न ४ बजेबाट तीन वटै रूटमा सञ्चालन भएको छ। यसैगरी भोलि पहिलो सिफ्ट बिहान ८ बजेबाट र दोस्रो सिफ्ट दिउँसो साढे ३ बजेबाट उक्त रूटहरूमा सञ्चालन हुनेछ।






