काठमाडौँ । सरकारी स्वामित्वको जनकपुर चुरोट कारखाना लिमिटेडले आफ्नो बक्यौता तथा दायित्व फरफारक गर्ने प्रक्रिया अघि बढाउँदै सरोकारवालालाई २१ दिनभित्र प्रमाणसहित दाबी पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको कारखानाले सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि बाँकी हिसाबकिताब मिलान गर्न यस्तो सूचना निकालेको हो।
मन्त्रिपरिषद्ले २०८२ वैशाख १५ गते कारखानामा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्पन्न गरेको हो।
कारखानाले सोमबार जारी गरेको सूचनामा कारोबार गर्ने ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई कारखानासँग सम्बन्धित कुनै बक्यौता वा दायित्व बाँकी भए प्रमाणसहित निर्धारित समयभित्र सम्पर्क गर्न आग्रह गरेको छ।
कारखानाका अनुसार कुनै निकायको फैसला वा निर्णयबमोजिम लिनुपर्ने वा दिनुपर्ने रकम, जग्गा रोक्का, बिमा तथा कर्मचारीका सेवा–सुविधासम्बन्धी दाबी भए २१ दिनभित्र पेस गर्नुपर्नेछ। त्यस्तै, उद्योगलाई तिर्न वा बुझाउन बाँकी रकम भए सम्बन्धित व्यक्ति वा संस्थाले पनि सोही अवधिभित्र दाबी गर्नुपर्ने सूचनामा उल्लेख छ।
तोकिएको अवधिभित्र दाबी पेस नगरे प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने र म्याद समाप्त भएपछि कारखानामाथि कुनै दाबी गर्न नपाइने सूचनामा जनाइएको छ।
दाबी पेस गर्न इच्छुक व्यक्ति तथा संस्थाले धनुषाको जनकपुरस्थित कारखानाको कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। त्यसका अतिरिक्त ९८४५१०५००८ नम्बरमा फोन गरेर वा इपिडिभिजनएमओआइसिएस एट जिमेल डटकममा इमेल पठाएर पनि सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।





