काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले मध्यरातमा बसेको प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्।
प्रदेश सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बजेट ल्याएको जनाएको छ। बजेटमार्फत कर्मचारीको तलब तथा भत्तामा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरिएको छ।
सत्तारुढ दलहरूबीचको विवादका कारण बजेट मध्यरातमा प्रस्तुत भएको हो। मन्त्री धामीले बजेट प्रस्तुत गरे पनि मन्त्रालयगत बजेट विनियोजनको विस्तृत विवरण भने सार्वजनिक गरेनन्।
बजेटको खर्च व्यहोर्ने स्रोततर्फ उनले आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड तथा नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रहेको उल्लेख छ ।
त्यस्तै, संघीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने ७ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने ९ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने ६ अर्ब ३ करोड ५८ लाख, समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको मन्त्रीको भनाइ छ ।




