गुडिरहेको ‘आयोन ईभी’ गाडीमा एक्कासी आगलागी, चालकको मृत्यु

काठमाडौं । चितवनमा गुडिरहेको विद्युतीय कारमा शुक्रबार बिहान एक्कासि आगलागी हुँदा चालकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१२ बसन्तचोकनजिक पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा चलिरहेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको आयोन ईभीमा बिहान करिब ६ बजे आगो लागेको हो।

आगलागीमा भरतपुर–१२ पाल्पोटका करिब ५६ वर्षीय अमर पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दमकलले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र उनको जलेको शव फेला परेको थियो। आगलागीबाट गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार सीसीटीभी फुटेजमा पराजुली सामान्य गतिमा सिटबेल्ट लगाएर गाडी चलाइरहेको देखिन्छ। बसन्तचोकनजिक पुगेपछि अचानक गाडीमा आगो लागेको र त्यसपछि चालक आत्तिएको देखिएको उनले बताए।

प्रत्यक्षदर्शीका अनुसार आगो लागेपछि चालकले गाडीबाट बाहिर निस्कन ढोका खोल्ने प्रयास गरेका थिए। तर ढोका नखुलेका कारण उनी बाहिर निस्कन नसकेको बताइएको छ। प्रहरीका अनुसार यही घटनाले विद्युतीय सवारीमा आगलागी हुँदा यात्रु बाहिर निस्कने आपत्कालीन सुरक्षा संयन्त्रबारे पनि प्रश्न उठाएको  छ।

गाडीमा अचानक आगो लाग्नु, चालकले त्यसबाट बाहिर निस्कन नसक्नु र अन्ततः ज्यानै गुमाउनुको घटनाले आयोन ब्रान्डको विद्युतीय प्रणाली, ब्याट्री, वायरिङ, चार्जिङ प्रणाली, ढोका तथा आपत्कालीन सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठेको जानकारहरु बताउँछन्। यधपि ब्याट्रीमा समस्या आएको हो वा विद्युतीय तार तथा अन्य कुनै कम्पोनेन्टमा खराबी भएर आगलागी भएको हो भन्ने विषय अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ ।

आगलागी ब्याट्री, विद्युतीय प्रणाली वा अन्य कुनै प्राविधिक खराबीका कारण भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आयोनका विद्युतीय गाडी नेपालमा सीजी मोटर्सले बिक्री–वितरण गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *