काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले विजयादशमीको बिदा अवधिमा पनि अत्यावश्यक न्यायिक सेवा प्रवाह गर्न दैनिक चार घण्टा अदालत खुला राख्ने भएको छ।
अदालतले शुक्रबार जारी गरेको सूचना अनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म अदालत बन्द रहने भए पनि उक्त अवधिमा घटस्थापना, शनिबार, फूलपाती र विजयादशमी टीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा सञ्चालन हुनेछ।
अदालतले बिदा अवधिमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता, जरुरी पक्राउ पुर्जी समर्थन तथा सो समर्थनसँग सम्बन्धित उपस्थित अभियुक्तहरूको म्याद थप, कल डिटेल्स (सीडीआर) अनुमति र पक्राउ अनुमति प्रदान गर्ने जनाएको छ।
त्यस्तै, धरौटी दाखिल गर्न नसकी थुनामा राख्न पठाइएका प्रतिवादीहरूबाट धरौटी रकम दाखिल गर्ने तथा फैसलाबमोजिम ठहर भएको जरिवाना रकम तिरी छुट्ने भएमा जरिवाना रकम बुझ्ने व्यवस्था पनि मिलाइएको छ।
अदालतले विजयादशमीको बिदामा समेत यी सेवाहरू उपलब्ध हुने जानकारी गराउँदै सम्बन्धित सबैलाई सूचित गरेको छ।
काठमाडौँ जिल्ला अदालतका प्रशासकीय प्रमुखले असोज २३ गते जारी गरेको सूचनामा बिदा अवधिमा सञ्चालन हुने सेवाहरूको विवरण उल्लेख गरिएको छ।




