यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौं । सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै विश्व बैंकसँगको सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिएका हुन्।

बैठकले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले नेपाल न्याय सेवाको सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरूमा विपद्सम्बन्धी वित्तीय व्यवस्थापन, जग्गा दर्ता, खेलाडीलाई पुरस्कार तथा सरकारी कर्मचारीको बढुवा र पदस्थापनसम्बन्धी विषय समेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *