काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१ अंकमा पुगेको छ। बजारमा हरियाली छाउँदा कारोबार रकमसमेत बढेको छ।
अघिल्लो कारोबार दिन ३ अर्ब ९३ करोड रुपैयाँमा सीमित सेयर कारोबार शुक्रबार बढेर ४ अर्ब ८३ करोड रुपैयाँ पुगेको हो।
शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये १८० वटाको सेयर मूल्य बढेको छ भने ८९ वटाको घटेको छ। त्यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।
यस दिन सबै समूहगत सूचक सकारात्मक रहे। बैंकिङ समूह सबैभन्दा धेरै १.२८ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह ०.९० प्रतिशत, जलविद्युत् समूह ०.७४ प्रतिशत र विकास बैंक समूह ०.६१ प्रतिशतले उकालो लागे।
त्यसैगरी, जीवन बिमा समूह ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.३७ प्रतिशत, व्यापार समूह ०.३७ प्रतिशत, वित्त समूह ०.३३ प्रतिशत र अन्य समूह ०.२८ प्रतिशतले बढेका छन्। निर्जीवन बिमा समूह ०.१८ प्रतिशत, लघुवित्त समूह ०.१७ प्रतिशत र लगानी समूह ०.१६ प्रतिशतले बढेका छन्।
शुक्रबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशतले बढेको छ। सिन्धु विकास बैंकको सेयर मूल्य ४.२२ प्रतिशत, सोलु हाइड्रोपावरको ४.०५ प्रतिशत र सान्भी इनर्जीको ३.८६ प्रतिशतले वृद्धि भएको छ।
यता, रिजलाइन इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ७.८५ प्रतिशतले घटेको छ। महिला लघुवित्तको सेयर मूल्य २.०९ प्रतिशत र सयपत्री हाइड्रोपावरको २.०८ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा शुक्रबार कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। त्यसपछि घलेम्दी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, सोलु हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सोनापुर मिनरल्स, एसवाई प्यानल र बलेफी हाइड्रोपावरका सेयरमा धेरै कारोबार भएको छ।
साताको अन्तिम दिन नेप्से परिसूचकसँगै कारोबार रकम बढेको छ भने सबै समूहगत सूचक सकारात्मक देखिएका छन्।




