काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबारदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ।
चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले सहज यात्राका लागि अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’ले जानकारी दिए।
उनका अनुसार यात्रुले शुक्रबार बिहानदेखि नै अनलाइन तथा आधिकारिक काउन्टरबाट टिकट बुक गर्न सक्नेछन्। टिकट काट्दा गन्तव्य, यात्रा मिति तथा समय र सिट नम्बर यकिन गरेर मात्रै टिकट लिन महासंघले आग्रह गरेको छ।
चाडपर्वमा हुने भिडभाड, टिकटको कालोबजारी तथा यात्रु ठगी रोक्न निगरानी बढाइने महासंघले जनाएको छ। तोकिएको भाडाभन्दा बढी रकम लिने वा टिकट लुकाएर कालोबजारी गर्ने व्यवसायीमाथि कारबाही गरिने अध्यक्ष सिटौलाले बताए।
महासंघले यात्रुलाई अनधिकृत व्यक्तिबाट टिकट नलिई आधिकारिक काउन्टर वा अनलाइन माध्यमबाट मात्रै टिकट खरिद गर्न आग्रह गरेको छ।




