काठमाडौं । सरकारले दुई सहसचिवलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा र एक नायब महालेखापरीक्षकलाई उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवा र लेखापरीक्षण सेवातर्फ रिक्त रहेका विशिष्ट श्रेणीका पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फ कार्यरत सहसचिव नवीनराज सिंहलाई सचिव पदमा बढुवा गरिएको छ । त्यस्तै, नेपाल प्रशासन सेवा समूहीकरणतर्फ कार्यरत सहसचिव चक्रबहादुर बुढालाई पनि राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ ।
यसैगरी, नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ रिक्त रहेको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गरिएको छ ।
मन्त्रिपरिषद्को निर्णयसँगै सिंह र बुढा सचिव तथा भण्डारी उपमहालेखापरीक्षकको जिम्मेवारीमा जाने भएका छन् ।




