एनआईसी एशियाको इन्टरनेट बैंकिङ सेवा बन्द हुँदै, यस्तो छ नयाँ विकल्प

काठमाडौं। एनआईसी एशिया बैंकले आफूले सञ्चालन गर्दै आएको आईटच इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने भएको छ । बैंकले आगामी २०८३ माघ १ गतेदेखि उक्त सेवा पूर्णरूपमा निष्क्रिय गर्ने जनाएको हो ।

बैंकले सूचना जारी गर्दै हाल सञ्चालनमा रहेको आईटच इन्टरनेट बैंकिङ सेवा सन् २०२७ जनवरी १५ अर्थात् २०८३ माघ १ गतेदेखि बन्द हुने जानकारी दिएको छ । त्यसअघि नै विद्यमान ग्राहकलाई वैकल्पिक डिजिटल बैंकिङ सेवामा स्थानान्तरण हुन बैंकले आग्रह गरेको छ ।

बैंकका अनुसार ग्राहकले आईटचको विकल्पमा ओएमएनआई वेबमा आधारित मोबाइल बैंकिङ सेवा प्रयोग गर्न सक्नेछन् । त्यसका लागि विद्यमान ग्राहकले २०८३ पुस ३० गतेभित्र ओएमएनआई सेवामा दर्ता भई सेवा सञ्चालन गर्नुपर्नेछ ।

बैंकले आईटच इन्टरनेट बैंकिङ सेवामा नयाँ दर्ता तथा नवीकरणको प्रक्रिया पनि बन्द गरिसकेको जनाएको छ ।

ओएमएनआई सेवा सञ्चालन गर्न ग्राहकले बैंकको इ–सेवा पोर्टलमार्फत दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन् । त्यसबाहेक नजिकको एनआईसी एशिया बैंकको शाखामा सम्पर्क गरेर पनि सेवा सक्रिय गर्न सकिने बैंकले जनाएको छ ।

२०८३ माघ १ गतेपछि आईटच इन्टरनेट बैंकिङ सेवा पूर्णरूपमा निष्क्रिय हुने भएकाले त्यसअघि नै ओएमएनआई सेवामा स्थानान्तरण भई बैंकिङ सेवा निरन्तर प्रयोग गर्न बैंकले आफ्ना सबै ग्राहकलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *