काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट संवेदनशील सूचना चुहाउने प्रवृत्ति लामो समयदेखि चल्दै आएको भन्दै कानुनको कठघरामा ल्याइने चेतावनी दिएका छन्।
मंगलबार उनले समाजिक सञ्जालमार्फत गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति नियालिरहेको भन्दै यस्तो चेतावनी दिएका हुन्।
उनले लेखेका छन्, ‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठन माथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ।’
उनले राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन।यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ। ’
हालै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी हिरासतमा भेटेको आरोपमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशी राज दाहाललाई गृह मन्त्रालयले निलम्बन गरिएको छ।
गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बल प्रधान कार्यालयको प्रतिवेदनका आधारमा घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ। समितिलाई तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ।




