दुई रुपैयाँ दरका ३० करोड सिक्का छाप्दै राष्ट्र बैंक, माग्यो अन्तर्राष्ट्रिय बोलपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट सिक्काको डिजाइन, छपाइ, आपूर्ति र ढुवानी गर्ने गरी यो बोलपत्र माग गरेको हो।

राष्ट्र बैंकका अनुसार यो प्रक्रिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रअन्तर्गत हुनेछ, जसमा पूर्वयोग्य कम्पनीले मात्र सहभागिता जनाउन पाउनेछन्। बोलपत्र प्रक्रिया एक चरणको दुईवटा खाम प्रणालीमा सञ्चालन हुनेछ। यसको अर्थ सहभागी कम्पनीहरूले आफ्नो प्राविधिक र मूल्यसम्बन्धी प्रस्तावलाई छुट्टाछुट्टै खाममा राखेर बुझाउनुपर्नेछ। इच्छुक कम्पनीहरूले बोलपत्रसम्बन्धी कागजात आगामी ३ नोभेम्बर २०२६ सम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागबाट खरिद गर्न सक्नेछन्।

यस कागजातको शुल्क २० हजार नेपाली रुपैयाँ वा अमेरिकी डलर १३१, युरो ११५ तोकिएको छ। Shivam Cement बोलपत्रदाताहरूको सहजताका लागि १६ अक्टोबर २०२६ को दिउँसो १२ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा पूर्वबोलपत्र बैठक आयोजना गरिनेछ। बोलपत्र बुझाउने अन्तिम म्याद ४ नोभेम्बर २०२६ को दिउँसो १२ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ।

यदि अन्तिम मितिका दिन सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो कार्यदिवसलाई नै अन्तिम मिति मानिने बैंकले जनाएको छ। बोलपत्रमा सहभागी हुनका लागि कम्पनीहरूले कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी राख्नुपर्नेछ।

यो जमानत बोलपत्र खोलिएको मितिदेखि १२० दिनसम्म मान्य हुनुपर्नेछ भने बोलपत्रको समग्र म्याद ३ अप्रिल २०२७ सम्म कायम रहनेछ। त्यसैगरी, नेपाल राष्ट्र बैंकले कालोसूचीमा परेका कुनै पनि कम्पनी वा त्यस्ता कम्पनीसँग सम्बन्धित व्यक्तिलाई यस बोलपत्र प्रक्रियामा सहभागी हुन नदिने स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *