काठमाडौँ । कांग्रेसको १५औं महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसले देउवालाई प्रमुख अतिथिको निम्तो पठाएको थियो । तर उनी महाधिवेशनमा नजाने संस्थापनइतर पक्षको केन्द्रीय महाधिवेशन निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जानकारी दिए ।
उनका लागि महाधिवेशन आयोजकका तर्फबाट औपचारिक निम्तो गइसकेको थियो । सभापति गगन थापाले धेरै प्रयास गरे पनि भेटघाट हुन नसकेको बताएका थिए ।’मैले भेट्नका लागि आफैंले टेलिफोन गरेर कोसिस गरेँ । धेरै नेताहरूमार्फत् पनि कोसिस गरेँ । साँझ, बिहान जतिबेलै भेटको कोसिस गरेँ । तर भेटघाट र कुराकानी हुन सकेको छैन । मैले कोसिस गरेको विषय बाहिर आउन नसकेको हो ।
त्यस्तै, कांग्रेसले एमालेका अध्यक्ष ओलीलाई पनि औपचारिक निम्तो पठाएको थियो । ओली महाधिवेशनमा सहभागी हुनेछैनन् । एमाले प्रचार विभागका अनुसार महासचिव शंकर पोखरेल सहभागी हुने निश्चित भएको छ ।
यस्तै, जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा जारी भएकाले कांग्रेस महाधिवेशनमा आफू सहभागी हुन नसक्ने अध्यक्ष सीके राउतले जानकारी दिएका छन् ।
जनता समाजवादी पार्टी नेपालबाट पनि अध्यक्ष यादवको सट्टामा पार्टीले सहअध्यक्ष शरतसिंह भण्डारीलाई पठाउने भएको छ ।
श्रम संस्कृति पार्टीबाट पनि अध्यक्ष हर्कराज राई सहभागी हुनेछैनन् । पार्टीका महासचिव आरेन राई भने महाधिवेशन उद्घाटन समारोहमा उपस्थित हुनेछन् ।
कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा गर्दै छ। महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले आकलन छ ।




