बुटवल । अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले अनुदानभन्दा नीतिगत स्थिरता र लगानीको विश्वासिलो वातावरण आवश्यक रहेकोमा जोड दिएको छ ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अगुवाइमा शनिबार बुटवलमा आयोजित नेपाल चेम्बर अफ कमर्सको नेतृत्वसँगको संवाद कार्यक्रममा उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर सहज बनाउन, लगानीको सुरक्षा सुनिश्चित गर्न र व्यवसाय सञ्चालनमा राज्यका निकायबाट सहजीकरण गर्न माग गरेका हुन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा तथा लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल सहभागी थिए । लुम्बिनी प्रदेशका विभिन्न जिल्ला तथा नगर चेम्बरका पदाधिकारी, भन्सार एजेन्ट संघ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले आर्थिक तथा व्यावसायिक क्षेत्रका समस्या उठाएका थिए ।
अध्यक्ष अग्रवालले अर्थतन्त्रमा देखिएको सुस्तता, कमजोर निजी लगानी, उद्योग–व्यवसायप्रतिको घट्दो विश्वास, न्यून कर्जा माग र सीमित रोजगारीका अवसरलाई प्रमुख चुनौतीका रूपमा औँल्याए । उनले स्थिरता, विश्वास र पारदर्शिता दिगो आर्थिक विकासका आधार भएको बताए ।
वरिष्ठ उपाध्यक्ष मल्होत्राले चेम्बरलाई केन्द्रदेखि प्रदेश हुँदै पालिका तहसम्म थप चलायमान बनाउने गरी विशेष प्याकेजसहितका रणनीतिक कार्यक्रम तय गर्ने प्रतिबद्धता जनाए ।
लुम्बिनी प्रदेश अध्यक्ष पोखरेलले निजी क्षेत्रले राज्यबाट सबैभन्दा पहिले नीतिगत स्थिरता र कार्यान्वयनमा विश्वसनीयता खोजेको बताए । लगानी गरेपछि पटक–पटक नियम, कर, प्रक्रिया तथा नियमन परिवर्तन हुने अवस्था अन्त्य गरी दीर्घकालीन र अनुमान गर्न सकिने व्यावसायिक वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा व्यवसायीहरूले बजारमा घट्दो माग, न्यून कर्जा माग, व्यवसायको नगद प्रवाहमा परेको दबाब, निर्माण क्षेत्रमा आएको सुस्तता, सरकारी पुँजीगत खर्चको कमजोर कार्यान्वयन तथा नीतिगत अनिश्चिततालगायतका समस्या उठाएका थिए ।
त्यस्तै, अनुगमनका नाममा व्यवसायीलाई हतोत्साहित तथा त्रसित बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने माग पनि उनीहरूले गरे । व्यवसायमा कमीकमजोरी भए प्रमाणका आधारमा सूक्ष्म रूपमा अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्ने तर त्रुटि नभएका व्यावसायिक प्रतिष्ठानलाई समेत सार्वजनिक रूपमा नकारात्मक प्रभाव पर्ने गरी व्यवहार गर्न नहुने उनीहरूको धारणा थियो ।
कार्यक्रमका सहजीकरणकर्ता तथा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका महासचिव शिव ज्ञवालीले निजी क्षेत्रले राज्यसँग सुविधा मात्र नभई लगानीमैत्री वातावरण र स्थिर नीति खोजेको बताए ।




