पत्रकारको नाममा कसैलाई पनि असनको साँढे बन्ने छुट हुँदैन : राजीव खत्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले प्रेस काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फ्याँक्ने’ भन्दै पत्रकार महासङ्घका नेताहरूले धम्की दिएको आरोप लगाउँदै आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खत्रीले पत्रकारको नाममा धम्कीपूर्ण भाषा प्रयोग गर्नेहरूलाई प्रश्न गर्दै भने, ‘यस्तो धम्की दिने पत्रकार हुन् कि गुण्डा?’

उनले भने, ‘पत्रकारको नाममा कसैलाई पनि असनको साँढे बन्ने छुट हुँदैन। श्रमजीवी पत्रकारले तलब नपाउँदा चुइँक्क नबोल्ने तर सञ्चार गृहका मालिकले विज्ञापन कम पाए भनेर धम्कीपूर्ण भाषा बोल्ने पत्रकारका नेता होइनन्, दुस्मन हुन्। सरकारले यस्ता विज्ञापन घटाउने मात्र होइन, हटाउने हो। पत्रकारिता जिम्मेवार पेसा मात्रै होइन, व्यवसाय पनि हो।’

लगानीकर्ताले आफ्नो मिडियाको आर्थिक र व्यावसायिक भविष्यबारे सोच्नुपर्ने बताए।

उनले थपे, ‘सरकारले विज्ञापन दिन्छ अनि सञ्चार उद्योग चलाउँछु भन्ने हुँदैन। सरकारी विज्ञापनमा हुने वार्षिक करोडौँको भ्रष्टाचार रोक्नैपर्छ। तीनै तहका सरकारलाई खबरदारी गर्न सरकारी नुन खाएर होइन, साँच्चैको श्रमजीवी हुन आवश्यक छ। पत्रकार महासङ्घ जस्तो स्वतन्त्र, निष्पक्ष रहनुपर्ने संस्थाका नेताहरूले दलहरूको दलदलमा पसेर गुण्डागर्दीको भाषा बोल्नु आपत्तिजनक छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *