डिम्याट खाता ८० लाख नाघ्यो, सेयर बजारमा नयाँ उपकरण भित्र्याउने सेबोनको तयारी

काठमाडौँ । नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता निरन्तर विस्तार भएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अर्थ समितिमा प्रस्तुत गरेको तथ्याङ्कअनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छ। ‘मेरो सेयर’ खाता सक्रिय प्रयोगकर्ताको संख्या पनि ५१ लाख २२ हजार नाघेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजारभन्दा बढी पुगेको बोर्डले जनाएको छ। प्राथमिक बजारमा साधारण सेयरको हिस्सा सबैभन्दा ठूलो रहेको छ। संगठित संस्थाले संकलन गरेको पुँजीमध्ये साधारण सेयरको हिस्सा ४६.२६ प्रतिशत, संस्थागत ऋणपत्रको ३१.०३ प्रतिशत र सामूहिक लगानी कोषको १४.८१ प्रतिशत रहेको छ।

बोर्डका अनुसार २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको पुँजी परिचालनको स्वीकृति दिइसकिएको छ। गत आर्थिक वर्षमा ५२ वटा संस्थालाई ७९ अर्ब ७३ करोड बराबरको पुँजी परिचालन गर्न अनुमति दिइएको थियो भने चालु आर्थिक वर्षमा हालसम्म चारवटा संस्थालाई ४ अर्ब ६० करोड रुपैयाँको स्वीकृति दिइएको छ।

यता, असोज १३ गतेसम्म नेप्से सूचकाङ्क २६०३.७१ बिन्दुमा कायम रहेको छ। सो अवधिसम्म कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। पुँजी बजारबाट राज्यले प्राप्त गर्ने राजस्वसमेत उल्लेख्य छ। आर्थिक वर्ष २०८२/८३ मा बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो भने चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब ५४ करोड रुपैयाँ राजस्व उठेको बोर्डले जनाएको छ।

यसैबीच सेबोनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनागत सुधार र प्राविधिक सुदृढीकरणलाई अघि बढाउने भएको छ। साइबर सुरक्षा, आईटी प्रणाली, सुशासन र संस्थागत क्षमता सुधारलाई प्राथमिकता दिँदै नेप्सेको पुनर्संरचनाका विषयमा सञ्चालक समितिसँग छलफल गरिने अध्यक्ष भट्टले बताएका छन्।

त्यस्तै, सीडीएससीलाई थप प्रभावकारी बनाउँदै भविष्यमा ‘सेन्ट्रल काउन्टर पार्टी’ का रूपमा विकास गर्ने तयारी भइरहेको छ। यसले सेयर कारोबारमा थप सुरक्षा र ग्यारेन्टीको व्यवस्था गर्न सहयोग पुग्ने बोर्डको भनाइ छ।

पुँजी बजारको दायरा विस्तार गर्ने उद्देश्यले इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ्सजस्ता नयाँ उपकरणका लागि आवश्यक पूर्वाधार विकासको कामसमेत अघि बढाइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *