काठमाडौँ । प्राकृतिक विपत्तिका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन केही दिन पर सर्ने सम्भावना बढेको छ। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्याएपछि महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौँ आउनै कठिन हुने अवस्था देखिएको हो।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। तर, महाधिवेशनअघि सम्पन्न गर्नुपर्ने क्षेत्रीयलगायतका अधिवेशनसमेत प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि मिति सार्ने विषयमा पार्टीभित्र छलफल सुरु भएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनको मिति सार्ने वा नसार्ने विषयमा मंगलबार बिहान बस्ने बैठकले निर्णय गर्नेछ।
‘प्राकृतिक विपत्तिका कारण महाधिवेशन स्थलसम्म आउने सडक र पुलहरू भत्किएका छन्। क्षेत्रीय अधिवेशन गर्नसमेत कठिनाइ भइरहेको छ। त्यसैले केही दिन पर सार्ने कि भन्ने कुराकानी भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्म कुनै निर्णय भएको छैन।’
महाधिवेशनको मिति सार्दा उत्पन्न हुन सक्ने कानुनी जटिलताबारे समेत कांग्रेसले छलफल गरिरहेको छ। कांग्रेसले सर्वोच्च अदालतमा पार्टीका तर्फबाट धारणा पेस गर्दा असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने उल्लेख गरेको थियो।
सर्वोच्च अदालतले पनि फैसलामा कांग्रेसले पेस गरेको सोही मितिलाई उल्लेख गरेको भन्दै मिति परिवर्तन गर्दा उत्पन्न हुन सक्ने कानुनी अवस्थाबारे अध्ययन गरेर मात्र निर्णयमा पुग्ने प्रवक्ता चालिसेले बताए।
उनका अनुसार प्राकृतिक विपत्तिका कारण देखिएको व्यवहारिक कठिनाइ र महाधिवेशनको मिति परिवर्तन गर्दा आउन सक्ने कानुनी प्रश्न दुवैलाई हेरेर पार्टीले निर्णय गर्नेछ।




