ग्यासको आपूर्ति सहज बन्दै, काठमाडौं भित्रिँदै १०५ भन्दा बढी बुलेट

काठमाडौं । भारतबाट एलपी ग्यास बोकेका बुलेटहरू काठमाडौं आउन थालेका छन्। अविरल वर्षाका कारण विगत चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने भएको हो।

गत असोज ८ गते रातिदेखि मौसम प्रतिकूलता र बाटो अवरोधका कारण ठप्प भएको ग्यास आपूर्ति आजबाट काठमाडौं आउन थालेको छ ।

काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका लागि एलपी ग्यास बोकेका बुलेटहरू पृथ्वी राजमार्ग हुँदै भित्रिने गर्दछन् । उक्त मुख्य राजमार्ग नै चार दिनसम्म निरन्तर बन्द भएपछि काठमाडौंतर्फ ग्यासका बुलेटहरू आउन सकेका थिएनन् ।

पृथ्वी राजमार्ग सुचारु भएसँगै रोकिएका ग्यास बुलेटहरू आ–आफ्नो गन्तव्यतर्फ अघि बढेका छन् । नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार बाटो खुलेसँगै आज मात्रै १०५ भन्दा बढी ग्यास बुलेटहरू काठमाडौँतर्फ आउने क्रममा रहेका छन् । साँझसम्ममा यो सङ्ख्या अझै बढ्ने र बाँकी रहेका सबै बुलेटहरू भित्रिने निगमले जनाएको छ ।

प्रवक्ता ठाकुरका अनुसार बाटोबाट भित्रिएका यी ग्यास बुलेटहरूबाट भोलिदेखि नै बोटलिङ प्लान्टहरूमा ग्यास रिफिलिङ (भर्ने) काम तीव्र रूपमा अघि बढाइनेछ ।

ग्यास सिलिन्डरहरू सर्वसाधारण र बजारसम्म पुर्‍याएर सुचारु रूपमा वितरण हुने छ । मुख्य राजमार्ग खुलेर ग्यासका बुलेटहरू निरन्तर आउन थालेपछि अब बजारमा ग्यासको अभाव हट्दै जाने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *