संयुक्त ऊर्जाले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिने, आईपीओ पनि निष्कासन गर्ने

काठमाडौं । गैरआवासीय नेपालीहरूको मुख्य लगानी रहेको संयुक्त ऊर्जा लिमिटेडले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको शुक्रबार काठमाडौंमा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको उक्त प्रतिशतबराबर नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

कम्पनीका अध्यक्ष एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सम्पन्न सभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो।

म्याग्दीको रघुगंगा गाउँपालिकामा कम्पनीले २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीको चुक्ता सेयर पुँजी १ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्रीबाट ४९ करोड ७२ लाख ७१ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। सो अवधिमा कम्पनीले करपछिको खुद नाफा १३ करोड ९० लाख ६५ हजार रुपैयाँ आर्जन गरेको जनाएको छ।

साधारणसभामा अध्यक्ष केसीले गत आर्थिक वर्षमा लक्ष्यअनुसार विद्युत् उत्पादन हुन नसकेको जानकारी दिए। उनका अनुसार कम्पनीले उक्त वर्ष १० करोड ९ लाख ५ हजार ४१७ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकोमा ७ करोड ९२ लाख २ हजार ४३० युनिट मात्रै उत्पादन गर्न सकेको थियो। यो लक्ष्यको करिब ७८ प्रतिशत हो।

नेपाल विद्युत् प्राधिकरणले उत्पादित सबै विद्युत् खरिद नगरिदिँदा कम्पनीले अपेक्षित आम्दानी गर्न नसकेको अध्यक्ष केसीको भनाइ छ। ‘यो वर्ष ४९ करोडको बिजुली मात्रै बेच्यौँ। प्राधिकरणले उत्पादन भएको सबै बिजुली किनिदिएको भए ७० करोडको बिजुली यही वर्ष बिक्री गर्ने क्षमता थियो,’ उनले भने।

यसैबीच कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारीसमेत गरेको छ। कम्पनीको १ अर्ब ६० करोड रुपैयाँ जारी पुँजीको १० प्रतिशत आयोजना प्रभावित तथा स्थानीय बासिन्दा र १६ प्रतिशत सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने योजना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *