काठमाडौं । कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ। भट्ट र सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीबीच विवाद भएको विषय सार्वजनिक भएपछि भन्सार विभागले उनलाई गड्डाचौकीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन निर्देशन दिएको हो।
भन्सार विभागका अनुसार भट्टलाई तत्कालका लागि गड्डाचौकी भन्सारको जिम्मेवारीबाट हटाइएको हो। सार्वजनिक भएको विवादसम्बन्धी विवरणबारे थप बुझ्नुपर्ने भएकाले उनलाई विभागमा हाजिर हुन पत्राचार गरिएको विभागले जनाएको छ।
एसपी केसी सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीमा कार्यरत छन्। भट्ट र केसीबीच उत्पन्न विवादका विषयमा विभिन्न विवरण सार्वजनिक भएपछि घटनाबारे थप तथ्य बुझ्न विभागले भट्टलाई काजसरह विभागमा बोलाएको हो।
विभागले विवादको विषयमा थप अध्ययन तथा आवश्यक छानबिनपछि मात्रै घटनाको वास्तविक अवस्था स्पष्ट हुने जनाएको छ। भट्टलाई विभागमा झिकाएसँगै गड्डाचौकी भन्सार कार्यालयको नियमित कामकारबाही भने प्रभावित नहुने गरी व्यवस्थापन गरिने विभागको भनाइ छ।




