प्रधानमन्त्रीको सम्बोधनले विश्वमञ्चमा जलवायु न्यायको मुद्दा जोडदार रुपमा उठ्यो : अध्यक्ष कार्की 

काठमाडौं । जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा क्रियाशील संस्था ‘साथसाथै फाउन्डेसन’की अध्यक्ष प्रजिता कार्कीले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले उठाउनु भएको मुद्दाप्रति सकारात्मक प्रतिक्रिया दिएकी छन् ।

प्रधानमन्त्री शाहको सम्बोधनबारे नेपाल न्यूज बैंकलाई प्रतिक्रिया दिँदै अध्यक्ष कार्कीले जलवायु न्यायको दृष्टिकोणबाट भएको सम्बोधन महत्वपूर्ण रहेको बताइन् ।

‘प्रधानमन्त्रीज्यूले हाम्रो पीडा, दुःख राम्रोसँग प्रस्तुत गर्नुभयो । ‘हिमालयन सुनामी’ भन्नुभयो, त्यो हामीले त भोग्यौँ, देख्यौँ तर विश्वलाई ‘ह्याभ यु रियली हर्ड द्याट वार्निङ’ भनेर प्रश्न पनि गर्नुभएको छ । यो साह्रै स्वागतयोग्य भयो।’

अध्यक्ष कार्कीले प्रधानमन्त्रीले हिमालयन सुनामीलाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै जलवायु संकटका कारण नेपालजस्तो न्यून योगदान गर्ने मुलुकले ठूलो क्षति भोग्नुपरेको विषयलाई विश्व समुदायसमक्ष राख्नु आवश्यक थियो भनिन् ।

‘यो विपद् मात्रै होइन, जलवायु संकट नै हो । जलवायु परिवर्तनमा नेपालको योगदान एकदमै न्यून छ । तर त्यही नेपालले यत्रो ठूलो डिजास्टर भोग्नुप¥यो। धेरैलाई विस्थापित ग¥यो, घरबारविहीन बनायो र क्लाइमेट रिफ्युजी नै बनायो,’ उनले भनिन् ।

प्रधानमन्त्रीको ‘ह्याभ यु रियली हर्ड द्याट वार्निङ’ भन्ने प्रश्नले विश्व समुदायको ध्यान खिचेको अध्यक्ष कार्कीको भनाइ छ ।

कार्कीले भौतिक संरचना पुनर्निर्माण गर्न सकिए पनि विपद्मा गुमेको जीवन र पुस्तौँदेखि बनेको सभ्यता पुनः फर्काउन नसकिने बताइन् । ‘जलवायु न्याय भनेको खाली क्षतिपूर्ति र पुनर्निर्माण मात्रै होइन । जसले आफ्नो जीवन, घर, भविष्य गुमाएका छन्, उनीहरूको सुनिश्चित भविष्य पनि जलवायु न्याय हो,’ उनले भनिन्।

उनका अनुसार विपद् प्रभावितले सम्मानपूर्वक फेरि बाँच्न पाउने वातावरण निर्माण गर्नु नै जलवायु न्यायको महत्वपूर्ण पक्ष हो।

‘आफ्नो परिवार, घर गुमाएका वा सबैकुरा गुमाएका पीडितहरूले सम्मानपूर्वक फेरि बाँच्न पाउनु नै उनीहरूको लागि जलवायु न्याय हुन्छ,’ कार्कीले भनिन्।

प्रधानमन्त्री शाहले जलवायु न्यायको मुद्दालाई विश्वमञ्चमा स्पष्ट रूपमा स्थापित गरेको र ‘हिमालयन सुनामी’लाई विश्व समुदायका लागि चेतावनीका रूपमा स्पष्ट रुपमा प्रस्तुत गरेको विषयलाई अध्यक्ष कार्कीले प्रशंसा समेत गरिन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको जलवायु संकट र भोटेकोशी–त्रिशूली विपद्लाई विश्वमञ्चमा उठाएका थिए । उनले विपद्लाई ‘हिमालयन सुनामी’का रूपमा प्रस्तुत गर्दै विश्व समुदायसँग त्यसको चेतावनी सुनेको हो कि होइन भन्ने प्रश्न गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *