वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउस प्रवेशमा रोक लगाएका तीन प्रमुख सञ्चारमाध्यमका पत्रकारलाई पुनः प्रवेश दिन अदालतले आदेश दिएको छ।
डिस्ट्रिक्ट अफ कोलम्बियाको अदालतले ट्रम्प प्रशासनको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै सीएनएन, पोलिटिको र एमएस नाउका पत्रकारको ह्वाइट हाउस प्रवेश अनुमति आगामी १४ दिनका लागि पुनर्बहाल गर्न निर्देशन दिएको हो।
गत साता ह्वाइट हाउसले ती तीन सञ्चारमाध्यमका संवाददाताको स्थायी प्रवेश पास (हार्ड पास) खोसेर ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएको थियो। प्रशासनको निर्णयलाई असंवैधानिक भन्दै सम्बन्धित सञ्चारमाध्यम अदालत पुगेका थिए।
सुनुवाइका क्रममा ट्रम्प प्रशासनले ती सञ्चारमाध्यमले भ्रामक सूचना सम्प्रेषण गरेको र राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको दाबी गर्दै प्रवेश रोक्ने निर्णयको बचाउ गरेको थियो। तर, न्यायाधीश टिमोथी केलीले प्रशासनको उक्त तर्क स्वीकार गरेनन्।
न्यायाधीश केलीले पत्रकारमाथि प्रतिबन्ध लगाउँदा ह्वाइट हाउसले आवश्यक कानुनी प्रक्रिया पूरा नगरेको ठहर गरेका छन्।
अदालतले ट्रम्प प्रशासनले प्रतिबन्ध घोषणा गर्दा राष्ट्रिय सुरक्षालाई आधारका रूपमा उल्लेख नगरेको समेत औँल्याएको छ। पछि अदालतमा आएर राष्ट्रिय सुरक्षालाई कारणका रूपमा प्रस्तुत गरिएको तर्कसँग पर्याप्त तथ्य मेल नखाने अदालतको आदेशमा उल्लेख छ।
मुद्दा विचाराधीन रहेकै अवस्थामा पत्रकारहरूको प्रवेश पास पुनर्बहाल गर्दा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने कुनै ठोस प्रमाणसमेत प्रशासनले प्रस्तुत गर्न नसकेको अदालतले जनाएको छ।
अदालतको आदेशपछि ती सञ्चारमाध्यमका पत्रकारलाई ह्वाइट हाउस प्रवेशको बाटो खुलेको छ। यद्यपि, यसबारे ह्वाइट हाउसले हालसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन। एजेन्सी




