काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का महासचिव एवम् एनएमबी बैंकका अध्यक्ष मनोज कुमार गोयलले नेपालको बैंकिङ क्षेत्र अहिले केही अप्ठ्यारो अवस्थामा रहे पनि उठ्नै नसक्ने अवस्थामा नरहेको बताएका छन्।
काठमाडौँमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गोयलले बैंकिङ क्षेत्र अहिले केही समस्यामा देखिए पनि त्यो ज्वरो आएजस्तो मात्र भएको र समयमै उपचार गरेर समाधान गर्न सकिने स्पष्ट पारेका हुन्।
महासचिव गोयलले भने, ‘तथ्याङ्क र आँकडाहरू हेर्दा बैंकिङ क्षेत्र अहिले केही अप्ठ्यारो अवस्थामा रहेको देखिन्छ, तर यो कुनै सुध्रिनै नसक्ने वा उठ्नै नसक्ने गरी थलिएको बिरामी भने होइन । हाम्रो अर्थतन्त्रमा कुनै संरचनात्मक क्षति भएको छैन । अलिकति अर्थतन्त्रले साथ दियो र हामीले सही समय पायौँ भने बैंकिङ क्षेत्र पुनः सम्हालिएर अगाडि बढ्न सक्छ ।’
उनले नेपाली बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रमा केही असहज परिस्थितिहरू देखिए तापनि ती समाधान गर्न नसकिने वा गम्भीर प्रकृतिका नरहेको स्पष्ट पारे । उनले बजारमा फैलाइएको नकारात्मक भाष्य जस्तो बैंकिङ क्षेत्र धराशायी नभएको र सही नीतिगत निर्णय तथा समय पाएमा यसले पुनः गति लिने दाबी गरे ।
गोयलले भने, ‘हामीले यो भाष्यलाई पब्लिकमा जसरी लगिरहेका छौँ, त्यसमा ध्यान दिनुपर्छ । बैंकिङ क्षेत्र एकदमै कमजोर भयो भन्ने सन्देशले अर्थतन्त्रलाई झन् कमजोर बनाउँछ। हामी सही बाटोमा हिँड्यौँ भने चाँडै रिकभर गर्न सक्छौँ भन्ने म्यासेज हाम्रा सबै सरोकारवालाकहाँ पुग्नुपर्छ ।’
बैंकमा नयाँ पुँजी, विचार र नयाँ दृष्टिकोण भित्र्याउनका लागि पुराना प्रमोटर (प्रवर्द्धक)हरूलाई सहज रूपमा बाहिरिन वा लगानी डाइल्युट गर्न दिने नीतिगत बाटो खोलिनुपर्ने गोयलको भनाइ छ । प्रमोटरहरूले सोचे अनुसारको प्रतिफल नपाएको र अरू क्षेत्रमा लगानीका अवसर हुँदाहुँदै पनि बैंकबाट बाहिरिन नपाउने स्थिति रहेको उल्लेख गर्दै उनले यसले क्यापिटल मुभमेन्टलाई रोकेको बताए ।
हालको आर्थिक सुस्तताका कारण ५ प्रतिशतभन्दा बढी लोन लस प्रोभिजनिङ गर्दा कर छुट वा सुविधामा देखिने व्यवधानहरू हटाउन सरकार र नेपाल राष्ट्र बैंकसँग आग्रह गरिएको उनले बताए ।
बैंकमा निक्षेपकर्ताहरूको रकम शतप्रतिशत सुरक्षित रहेको स्पष्ट पार्दै गोयलले भने, ‘अहिलेको अवस्थामा कुनै पनि निक्षेपकर्तालाई बैंकले भुक्तानी दिन नसकेको अवस्था छैन, निक्षेपकर्ता १०० प्रतिशत सुरक्षित छन् । तर सेयरधनी वा प्रमोटरहरूको स्थिति भने अलि फरक छ ।’
हालैको प्राकृतिक विपत्तिका कारण ऋणीहरूमा परेको असर र त्यसबाट बैंकहरूलाई पुगेको नोक्सानीलाई राष्ट्र बैंकसँगको सहकार्यमा उचित निकास दिइने उनले बताए ।




