काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले शैक्षणिक सत्र २०८२ का सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकहरूको सम्पूर्ण शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगन गरेको छ । कलेज प्रशासनले सम्पूर्ण शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगन गरिएकाे जानकारी दिएकाे हाे ।
कलेज प्रशासनले बिहीबार सूचना जारी गर्दै हालको शैक्षिक तथा संस्थागत अवस्थालाई दृष्टिगत गरी प्रथम वर्षका आवासीय चिकित्सकहरूको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा आकस्मिक कक्षको ड्युटीलगायत सम्पूर्ण गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।
कलेजले ती चिकित्सकलाई फिर्ता बोलाइदिन त्रिभुवन विश्वविद्यालय र चिकित्सा शास्त्र अध्ययन संस्थानसँग औपचारिक रूपमा अनुरोधसमेत गरिसकेको जनाएको छ।
त्यसैगरी, कलेजले प्रथम वर्षका सम्पूर्ण पीजी आवासीय चिकित्सकलाई सूचना जारी भएको १२ घण्टाभित्र छात्रावास, क्वार्टर वा अन्य आवासीय सुविधा खाली गर्न निर्देशन दिएको छ।
कलेजको निर्देशनअनुसार चिकित्सकहरूले आफूसँग रहेका कलेजका सम्पूर्ण सामग्री छात्रावास वा प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ। साथै, तोकिएको समयभित्र आवासीय परिसरबाट आफ्ना व्यक्तिगत सामानसमेत हटाइसक्नुपर्ने कलेजले जनाएको छ।
अर्को सूचना जारी नभएसम्म लागू हुने उक्त निर्णयको पालना गर्न सम्बन्धित सबैलाई अस्पताल प्रशासन तथा प्रधानाचार्य कार्यालयले आग्रह गरेको छ।





