काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष राजेश उपाध्यायले बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ भन्दै वित्तीय प्रणालीमाथि अनावश्यक दबाब र भ्रम सिर्जना नगर्न आग्रह गरेका छन्।
काठमाडौंमा आयोजित पत्रकार अन्तरक्रियामा उनले आर्थिक मन्दी, लगानीको प्रतिकूल वातावरण, व्यवसायीको खस्कँदो मनोबल र सरकारका नियन्त्रणमुखी नीतिका कारण वित्तीय क्षेत्रमा दबाब बढिरहेको बताए। प्राकृतिक विपद् र बजारमा देखिएको शिथिलताले बैंकिङ क्षेत्र प्रभावित भए पनि अहिलेको समस्या समाधान गर्न सकिने उनको भनाइ छ।
मानव शरीरमा मुटुले रक्तसञ्चार गरेजस्तै बैंकिङ प्रणालीले अर्थतन्त्रमा पुँजी प्रवाह गर्ने उल्लेख गर्दै उपाध्यायले वित्तीय प्रणालीमै समस्या आए त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने चेतावनी दिए।
‘एउटा मुटुले जसरी शरीरमा रक्तसञ्चार प्रणालीलाई सञ्चालन गर्छ, अर्थतन्त्रमा बैंकिङ क्षेत्रको भूमिका ठ्याक्कै त्यही हो,’ उनले भने, ‘त्यसैले बैंकिङ क्षेत्रलाई अत्यन्तै संवेदनशील र सावधानीपूर्वक व्यवहार गरिनुपर्छ।’
उनले बैंकिङ क्षेत्र भौतिक सम्पत्तिभन्दा पनि निक्षेपकर्ताको विश्वासमा टिकेको बताए। बैंकको अवस्था र वित्तीय प्रणालीबारे सार्वजनिक रूपमा गरिने टिप्पणीले निक्षेपकर्ताको विश्वासमा असर पार्न सक्ने भन्दै उनले राजनीतिक दलका नेता, व्यवसायी र सञ्चारमाध्यमलाई जिम्मेवार बन्न आग्रह गरे।
‘आज हामीले जतिसुकै राम्रो भने पनि, जस्तोसुकै नम्बर एक बैंक भए पनि यदि निक्षेपकर्ताको विश्वास गुम्यो र बचत फिर्ता लिन थालियो भने त्यो बैंक भोलि नै रित्तिन्छ र ढल्छ,’ उनले भने, ‘बैंकिङ क्षेत्र पूर्णतया विश्वासमा टिकेको क्षेत्र भएकाले यसलाई कमजोर बनाउने खेल कसैले पनि खेल्नु हुँदैन।’
पछिल्लो समय राजनीतिक दलका नेताबाट आउने टिप्पणी, केही व्यवसायीका आक्षेप तथा सञ्चारमाध्यममा आउने नकारात्मक चर्चाप्रति उनले चिन्ता व्यक्त गरे। नेपाल राष्ट्र बैंकले गर्ने कारबाही, नियम परिवर्तन तथा कानुनी निर्णय गर्दा वित्तीय क्षेत्रको संवेदनशीलतालाई ध्यान दिनुपर्ने उनको माग छ।
‘त्रासमुक्त वातावरण नभएसम्म लगानी बढ्दैन’
उपाध्यायले लगानी र व्यवसाय विस्तारका लागि सबैभन्दा पहिले त्रासमुक्त वातावरण आवश्यक रहेको बताए। व्यवसायी र लगानीकर्ता उत्साहित भए नयाँ बजार र अवसर सिर्जना हुने तर विश्वास गुमेमा स्रोत र सम्भावना हुँदाहुँदै पनि आर्थिक गतिविधि सुस्ताउने उनको भनाइ छ।
‘कन्फिडेन्स भनेको अचम्मको चिज हो। व्यवसायी र लगानीकर्ता उत्साहित भए भने केही नभएको ठाउँमा पनि शून्यबाट नयाँ बजार सिर्जना हुन्छ,’ उनले भने, ‘तर विश्वास र उत्साह गुम्दा सबैथोक भए पनि केही हुँदैन।’
कानुनको व्यावहारिक कार्यान्वयन, नीतिगत स्थिरता, लगानीको प्रतिफल सुनिश्चितता र सहज व्यावसायिक वातावरणले मात्रै लगानीकर्तामा विश्वास जगाउने उनले बताए।
नेपालमा निजी क्षेत्रका बैंकहरू विस्तार भएपछि आर्थिक रूपान्तरण सम्भव भएको उल्लेख गर्दै उनले अहिलेको आर्थिक मन्दीबाट बाहिरिन पनि निजी क्षेत्र र बैंकिङ क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
‘अर्थतन्त्रलाई ज्वरो आएको हो, गम्भीर रोग लागेको होइन’
उपाध्यायले अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्या असाध्य रोग नभएको दाबी गरे। अर्थतन्त्रमा संरचनात्मक क्षति नभएको उल्लेख गर्दै उनले सही नीतिगत बाटो समाते बैंकिङ प्रणाली पुरानै लयमा फर्किन सक्ने बताए।
उनले बैंकिङ क्षेत्रको अहिलेको अवस्थालाई ‘ज्वरो आएको’ अवस्थासँग तुलना गरे। समस्या समाधानका लागि नियन्त्रणभन्दा विश्वास र सहकार्यमा आधारित नीति आवश्यक रहेको उनको भनाइ छ।
देशको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेका विदेशमा रहेका नेपाली युवाले पठाउने रेमिट्यान्सको सदुपयोग गर्दै स्वदेशमै लगानी र उत्पादन बढाउनुपर्नेमा पनि उनले जोड दिए।
सिबिफिनका यस्ता छन् नीतिगत माग
वित्तीय क्षेत्रको तत्काल सुधारका लागि सिबिफिनले विभिन्न नीतिगत गाँठो फुकाउनुपर्ने माग अघि सारेको छ।
राष्ट्र बैंक ऐनमा बैंक तथा वित्तीय संस्थाका सञ्चालकको योग्यता, उमेर हद तथा सामान्य कमजोरीमा हुने कारबाहीको दायरा स्पष्ट र व्यावहारिक बनाउनुपर्ने उपाध्यायले बताए। सानोतिनो त्रुटिमै अयोग्य हुने डरले वित्तीय क्षेत्रका नेतृत्वले आत्मविश्वासका साथ निर्णय गर्न नसकेको उनको भनाइ छ।
आर्थिक मन्दीका कारण कर्जा जोखिम बढिरहेका बेला पाँच प्रतिशतभन्दा माथिको कर्जा नोक्सानी व्यवस्थामा लाग्ने करको अतिरिक्त भार हटाउनुपर्ने माग पनि उनले अघि सारे। यस्तो करको अन्तिम भार बैंकमा मात्र नभई सर्वसाधारणको पैसामा समेत पर्ने उनको तर्क छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थामा थुप्रिँदै गएको गैरबैंकिङ सम्पत्ति तथा खराब सम्पत्ति व्यवस्थापन गर्न सरकारले घोषणा गरेको एसेट म्यानेजमेन्ट कम्पनी स्थापनाको प्रक्रिया पुस मसान्तभित्र टुंग्याउन उनले आग्रह गरे।
उनले हालैको बाढीपहिरोबाट बैंकका ऋणीहरूको व्यवसाय तथा सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै उपाध्यायले उनीहरूलाई कर्जा भुक्तानीमा समस्या हुने बताए।
प्रभावित ऋणीलाई राहत दिन नेपाल राष्ट्र बैंक र बैंकहरूबीच समन्वय गरी कर्जा पुनर्संरचनाको व्यवस्था तत्काल अघि बढाउनुपर्ने उनको धारणा छ। यद्यपि बैंकमा रहेको निक्षेपकर्ताको रकम सुरक्षित रहेको उनले स्पष्ट पारे।
नेपालको अर्थतन्त्रमा ठूलो सम्भावना रहेको दाबी गर्दै उपाध्यायले नियन्त्रणमुखी सोच त्यागेर सरकार, नियामक, बैंक तथा निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।




