ज्ञानेन्द्रको प्रश्न– संसद्मा जेनजी शहीदकी आमा रुँदा सरकार चलाउनेहरू कुर्सीमा कसरी बसेका छन् ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण विद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको सरकारले हत्या गरेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा शाहीले सुरुङमा फसेकाहरूको मृत्युलाई ‘राज्यद्वारा प्रायोजित हत्या’ को संज्ञा दिए।

उनले भने, ‘सुरङभित्र मान्छे फसेको सूचना दिँदा पनि १२ घण्टासम्म सरकार मौन रह्यो। २६४ घण्टापछि उद्धार सुरु भयो। प्रधानमन्त्रीले सुरुङमा हिलो फाल्ने मेसिन छैन भनेर दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण थियो।’ उनले सरकारले समयमा उद्धार गर्न नसक्दा नै मानिसहरूले ज्यान गुमाउनुपरेको आरोप लगाए।

शाहीले भोटेकाशीमा आएको बाढीका कारण जुम्ला शोकमग्न भएको भन्दै पीडित परिवारको अवस्था दयनीय रहेको बताए। उनले भने, ‘भोटेकोशी बाढीले सयौँ नागरिकलाई बेपत्ता पारेको छ, कैयौँको लास भेटिएको छ तर धेरैको अझै अत्तोपत्तो छैन। आमाहरूले काख रित्तो बनाएर आँसु झारिरहेका छन्, बालबालिकाका आँखाले अझै पनि आफ्ना अभिभावक खोजिरहेका छन्।’

उनले बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाहरूको उद्धारमा राज्यले देखाएको ढिलासुस्ती र असंवेदनशीलताको आलोचना गरे। उनले प्रश्न गरे, ‘सरकारसँग २ लाख सुरक्षाकर्मी, डेढ लाख कर्मचारी र २१ खर्बभन्दा बढी पैसा छ, तर राज्यको उद्धार संयन्त्र कहाँ छ ? के एउटा उद्धार गर्न पनि हप्तौँ कुर्नुपर्ने हो ?’

उनले जेनजी आन्दोलनका नाममा होस् वा अन्य घटनामा, जोसुकै अपराधी भए पनि तिनलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन उनले सरकारलाई चुनौती दिए।

एकल बहुमतको सरकार बनेको ६ महिनासम्म पनि सरकारले जेनजी आन्दोलनका अपराधी पक्राउ गर्न नसकेको र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई समेत बेवास्ता गरेको भन्दै उनले सत्तापक्षका सांसदहरूलाई आफ्नो सरकारको असफलतामा कति दिन सत्तामा बस्ने ? भनी प्रश्न गरे।

उनले भोटेकोशी बाढीका सम्बन्धमा मन्तव्य राख्ने क्रममा सत्तापक्षका सांसदहरूलाई सचेत गराए । भने, ‘यो कुनै राजनीतिक स्वार्थका लागि होइन, यो एउटा आमाको आँसु र एउटा बच्चाको भविष्यका लागि हो। यदि सरकार जनताको रक्षा गर्न सक्दैन भने सत्ताको कुर्सीमा बस्ने अधिकार कसैलाई छैन।’

उनले आफ्नो भाइको समेत भोटेकोशी बाढीपछि अवस्था अज्ञात रहेको र धेरै परिवार अझै पनि आफ्नो प्रियजनको पर्खाइमा रहेको भन्दै सरकारले पीडित परिवारलाई न्याय र राहत दिनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *