सेयर कारोबार ठप्प भएपछि धितोपत्र बोर्ड एक्सनमा, छानबिन गर्न एक साताको अल्टिमेटम

काठमाडौँ । प्राविधिक समस्याका कारण सेयर कारोबार रोकिएपछि नेपाल धितोपत्र बोर्डले छानबिन अघि बढाएको छ।

बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाउँदै ७२ वटा धितोपत्र दलाल व्यवसायीको सर्भर रहेको डेटा सेन्टरमा देखिएको प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी एक साताभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो।

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार नेप्सेले प्रदान गरेको टीएमएस सञ्चालन गरिरहेका ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर रहेको डेटा सेन्टरमा समस्या देखिएको थियो।

७२ वटा ब्रोकरको सर्भर व्यवस्थापनको जिम्मेवारी लिएको डेटा हबको प्रणालीमा आइतबार बिहानदेखि प्राविधिक समस्या आएको थियो। लामो समयसम्म समस्या समाधान हुन नसकेपछि सेयर कारोबार रोकिएको नेप्सेले जनाएको छ।

बोर्डले आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ। बोर्डको निर्देशनअनुसार उक्त प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्नुपर्नेछ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ बोर्डले उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *