विकास बैंकको नाफामा दबाब: ५.२० प्रतिशत घट्दा १७ बैंकले कमाए जम्मा ६५ करोड, कुनको कति ?

काठमाडौं । विकास बैंकहरूको नाफामा चालु आर्थिक वर्षको सुरुमै दबाब देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा सञ्चालनमा रहेका १७ विकास बैंकले ६५ करोड ७९ लाख ७० हजार रुपैयाँ मात्र खुद नाफा कमाएका छन्। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२० प्रतिशत कम हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ को साउनमा विकास बैंकहरूले ६९ करोड ४० लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएका थिए। एक वर्षको अवधिमा विकास बैंकहरूको कुल नाफा करिब ३ करोड ६१ लाख रुपैयाँले घटेको हो।

नाफा कमाउने बैंकमध्ये मुक्तिनाथ विकास बैंक अगाडि छ। बैंकले साउनमा १३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि, गत वर्षको साउनको तुलनामा बैंकको नाफा १५.२० प्रतिशत घटेको छ।

त्यसैगरी समिक्षा अवधिमा गरिमा विकास बैंकले १२ करोड ७८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ४.५४ प्रतिशत कम हो। यस अवधिमा महालक्ष्मी विकास बैंकको नाफा भने उल्लेख्य बढेको छ। बैंकले साउनमा १० करोड ८२ लाख ८० हजार रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७८.५९ प्रतिशत बढी हो।

कामना सेवा विकास बैंकले ९ करोड ९९ लाख र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ९ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएका छन्। ज्योति विकास बैंकले ८ करोड ५६ लाख रुपैयाँ नाफा कमाउँदा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४ करोड ७४ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकले ९४ लाख ६० हजार, लुम्बिनी विकास बैंकले ९१ लाख ४० हजार, ग्रिन डेभलपमेन्ट बैंकले ५५ लाख १० हजार र सप्तकोशी डेभलपमेन्ट बैंकले १७ लाख ७० हजार रुपैयाँ नाफा कमाएका छन्।

नारायणी विकास बैंक भने अघिल्लो वर्ष घाटामा रहे पनि यसपटक नाफामा फर्किएको छ। गत वर्षको साउनमा २८ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेको बैंकले यस वर्ष ११ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ।

तर, समिक्षा अवधिमा सबै विकास बैंक नाफामा छैनन्। सालपा विकास बैंक ५ लाख ७० हजार रुपैयाँ घाटामा रहेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको घाटा १५ लाख ४० हजार, सिन्धु विकास बैंकको ३८ लाख ३० हजार र कर्णाली डेभलपमेन्ट बैंकको ८३ लाख ६० हजार रुपैयाँ रहेको छ।

समिक्षा अवधिमा एक्सेल डेभलपमेन्ट बैंकको अवस्था भने अझ कमजोर देखिएको छ। बैंकले साउनमा ५ करोड २४ लाख ८० हजार रुपैयाँ ऋणात्मक खुद नाफा देखाएको छ।

विकास बैंकहरूमध्ये केहीको नाफा बढे पनि मुक्तिनाथ, गरिमा लगायतका तुलनात्मक रूपमा ठूला बैंकको नाफा घट्दा समग्र क्षेत्रको खुद नाफा अघिल्लो वर्षको साउनको तुलनामा घटेको तथ्यांकले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *