काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउन र भदौमा ३२८ वटा उद्योग तथा परियोजनाका लागि यस्तो प्रतिबद्धता आएको हो।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा यस वर्षको लगानी प्रतिबद्धता करिब २२ अर्ब रुपैयाँले घटेको छ। गत वर्षको पहिलो दुई महिनामा ३३ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको थियो।
चालु वर्षको दुई महिनामा स्वीकृत परियोजनामध्ये ३२२ वटा उद्योग स्वचालित मार्गबाट आएका छन्। यी परियोजनाका लागि ९ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको छ। यस्तै, ६ वटा उद्योगका लागि स्वीकृति मार्गबाट १ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ।
महिनागत रूपमा भने साउनको तुलनामा भदौमा लगानी प्रतिबद्धताको रकम बढेको छ। भदौमा १३६ वटा परियोजनाका लागि ६ अर्ब ३५ करोड १५ लाख रुपैयाँ प्रतिबद्धता आएको थियो। साउनमा १९२ वटा परियोजनाबाट ४ अर्ब ७७ करोड २८ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो। अर्थात् परियोजनाको संख्या साउनमा बढी भए पनि लगानीको आकार भदौमा ठूलो देखिएको छ।
क्षेत्रगत रूपमा पर्यटनमा सबैभन्दा धेरै विदेशी लगानी प्रतिबद्धता आएको छ। कुल प्रतिबद्धताको ३४ प्रतिशत अर्थात् ३ अर्ब ७४ करोड २८ लाख रुपैयाँ ७० वटा पर्यटनमूलक उद्योगका लागि आएको विभागले जनाएको छ। सेवामूलक क्षेत्रका २६ वटा उद्योगका लागि ३ अर्ब ३० करोड ५४ लाख, ऊर्जामूलक एउटा परियोजनाका लागि २ अर्ब र उत्पादनमूलक १८ वटा उद्योगका लागि १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ प्रतिबद्धता आएको छ।
उद्योग संख्याका आधारमा भने सूचना प्रविधि क्षेत्र अगाडि छ। यस क्षेत्रमा २१२ वटा परियोजनाका लागि ८१ करोड ६९ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ, जुन कुल परियोजनाको करिब ६५ प्रतिशत हो। कृषिमूलक क्षेत्रमा २ करोड रुपैयाँको एउटा परियोजना आएको छ भने खनिज र पूर्वाधारमूलक क्षेत्रमा कुनै लगानी प्रतिबद्धता आएको छैन।
विदेशी लगानी साना उद्योगमा बढी केन्द्रित देखिएको छ। दुई महिनामा स्वीकृत ३२८ उद्योगमध्ये ३२३ वटा साना, २ वटा मझौला र ३ वटा ठूला उद्योग छन्।
विभागका अनुसार स्वीकृत परियोजनाहरू पूर्ण सञ्चालनमा आए ३ हजार ४४७ जनाले नयाँ रोजगारी पाउनेछन्। भदौमा स्वीकृत परियोजनाबाट मात्रै ९८३ जनाले रोजगारी पाउने अनुमान गरिएको छ। यस अवधिमा विभागले ८५ जना विदेशी लगानीकर्ता, ६२ जना प्रतिनिधि र ८६ जना आश्रित सदस्यका लागि व्यावसायिक भिसा सिफारिस गरेको छ।




