काठमाडौं। प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पहेँलो गुम्बामा आवश्यक ६ थान दुई तल्ले खाट हस्तान्तरण गरेको छ। देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण उक्त गुम्बामा आश्रित परिवारहरुको तत्कालिन आवश्यकतालाई मध्यनजर गर्दै बैंकले काठमाडौंस्थित पहेँलो गुम्बामा थप सहयोग स्वरुप ६ थान दुई तल्ले खाट उपलब्ध गराएको छ।
प्रभावित परिवारहरुका लागी दुई तल्ले खाट अत्यावश्यक रहेको पहिचान भए पछि बैंकले समाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो। यस सहयोगबाट राहत तथा आश्रय स्थलमा बसोबास गरिरहेको प्रभावित परिवारहरुलाई थप सहजता पुग्ने बैंकले विश्वास लिएको छ।
यसअघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहीन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ सय साथै प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको ४० लाख ८० हजार ५० पचास रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेकोे थियो।
त्यसैगरी, बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोग स्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग ब्यागसमेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो।
साथै, बैंकले प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशको सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रम संचालन गरेको थियो। प्राकृतिक विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
साथै, सम्पर्कविहीन नागरिकहरुहरुको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ लाभको कामना गर्दै विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ। प्रभु बैंकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा समुदायको राहत उद्धार र पुनःर्स्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।




