काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले कम्युनिष्ट शक्तिबीच एकता गरेर मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा ल्याउन सकिने बताएका छन्।
उनले विचार मिल्ने वाम घटकबीच एकता र संविधान तथा लोकतन्त्र पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताए। नेकपालाई सुदृढ गर्दै अन्य वाम शक्तिसँग एकताको प्रक्रिया अघि बढाउने बताए। पुनले मुलुकले कम्युनिष्ट शक्तिबीच एकता र लोकतान्त्रिक शक्तिबीच सहकार्य खोजेको बताएका छन्।
शनिबार काभ्रेको खानीखोला गाउँपालिका सम्पर्क समितिको भेलामा बोल्दै पुनले विचार मिल्ने वाम घटकबीच एकता गर्दै कम्युनिष्ट पार्टीलाई पुनः नेतृत्वदायी भूमिकामा स्थापित गर्नुपर्ने बताएका हुन्। उनले नेकपा विभाजनबाट उत्पन्न निराशाकै पृष्ठभूमिमा गत वर्षको जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रम विकसित भएको दाबी गरे।
संविधान र लोकतन्त्र पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले काँग्रेस र मधेस केन्द्रित दलसहितका शक्तिसँग सहकार्यमा जोड दिए। जेनजी आन्दोलनमा भूराजनीतिक चलखेल र घुसपैठ भएको उनको दाबी थियो।
पुनले अमेरिका, चीन र भारतबीचको बढ्दो प्रतिस्पर्धाका बीच नेपालले कूटनीतिक सन्तुलन कायम गर्दै राष्ट्रिय स्वाधीनता र हित जोगाउनुपर्ने बताए। साथै, स्थापित दलहरूले युवासँगको सम्बन्ध सुधार्नुपर्ने र सूचना प्रविधिलाई राजनीतिक प्रशिक्षण तथा संगठन विस्तारको माध्यम बनाउनुपर्ने धारणा राखे।




