वीरगन्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशीमाथि गोली चलाएर जारी गरिएको संविधान आफूहरूलाई मान्य नभएको बताएका छन्। उनले संविधान संशोधन, परिमार्जन वा आवश्यक परे पुनर्लेखन गर्नुपर्ने बताए।
शनिबार वीरगन्जमा आयोजित अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय भेलामा बोल्दै यादवले संविधानले मधेशी समुदायको अधिकार, पहिचान र प्रतिनिधित्वलाई पर्याप्त रूपमा सम्बोधन नगरेको दाबी गरे।
उनले जनसंख्याका आधारमा राज्यसत्ता, प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए। प्रतिनिधिसभा निर्वाचन क्षेत्र निर्धारणमा समेत मधेशसँग विभेद गरिएको उनको आरोप थियो।
यादवले नेपाली कांग्रेस र एमालेले भ्रष्टाचारबाट बच्न मिलेर सरकार बनाएको आरोप लगाउँदै पुराना दलप्रति जनआक्रोश बढेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उनले ‘घण्टी छाप’का नेताहरूको चरित्र पनि दोहोरो रहेको दाबी गरे।
कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मालगायत नेताहरू सहभागी थिए। उनीहरूले संघीयता, समावेशिता र मधेश आन्दोलनका उपलब्धि संरक्षणका लागि अग्रगामी शक्तिहरू एकजुट हुनुपर्ने बताएका थिए।




