पृथ्वी राजमार्ग खुलेसँगै घट्यो एलपी ग्यासको मूल्य, अब २ हजार ६० रुपैयाँ

काठमाडौँ । पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य घटेको छ। नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबारदेखि उपभोक्ताले प्रतिसिलिन्डर अधिकतम २ हजार ६० रुपैयाँमै ग्यास पाउने गरी बिक्री वितरण गर्न उद्योगीलाई निर्देशन दिएको हो।

यसअघि राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक लामो मार्गबाट ग्यास ढुवानी गर्नुपर्दा उपत्यकामा प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसासम्म बिक्री हुँदै आएको थियो। अब भने अतिरिक्त ढुवानी भाडा हटाइएसँगै ग्यासको मूल्य पुरानै दरमा कायम भएको हो।

गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गको सडकखण्ड कटान गरेपछि काठमाडौँको ग्यास आपूर्ति प्रभावित भएको थियो। मुख्य सडक अवरुद्ध भएपछि उपत्यकामा ग्यास आपूर्ति गर्ने उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषालगायत जिल्लामा रहेका उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै ग्यास ल्याउँदै आएका थिए।

वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढेको भन्दै संघले भदौ १८ गते नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा १ सय ५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न उद्योगीलाई अनुमति दिएको थियो।

अहिले कृष्णभीरमा वैकल्पिक ट्र्याक निर्माण गरी पृथ्वी राजमार्ग सञ्चालनमा आएपछि ग्यासका बुलेट नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। त्यससँगै अतिरिक्त ढुवानी खर्च हटाउँदै पुरानै मूल्यमा ग्यास बिक्री गर्न संघले निर्देशन दिएको हो।

संघका अध्यक्ष दिवान चन्दले जारी गरेको परिपत्रमा काठमाडौँ उपत्यकामा ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन निर्देशन दिइएको छ। संघले उद्योगीलाई आफ्ना डिलरलाई समेत सोहीअनुसार जानकारी गराउन भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *