काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेस आन्तरिक विभाजनको डिलमा पुगेको टिप्पणी गरेका छन्। विगतमा कांग्रेसकै कारण एमाले दुई पटक विभाजित भएको उल्लेख गर्दै उनले अहिले भने कांग्रेस नफुटोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रिजालले २०५४ फागुन २१ गते तत्कालीन सभामुख रामचन्द्र पौडेल महेन्द्रनगरबाट हेलिकोप्टरमार्फत काठमाडौं आएर हतारमा एमाले विभाजन गरी नेकपा माले दर्ता गराएको दाबी गरेका छन्।
त्यस्तै, २०७८ भदौ ९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल विभाजनका लागि आवश्यक सदस्य संख्या ४० प्रतिशतबाट घटाएर २० प्रतिशत कायम गर्ने गरी अध्यादेश जारी गरेको र त्यसपछि एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) गठन भएको रिजालको भनाइ छ। उक्त अध्यादेश असोज ११ गते खारेज भएको पनि उनले उल्लेख गरेका छन्।
‘कांग्रेसले एमालेलाई दुई पटक फुटायो। तर, हामी चाहन्छौँ– कांग्रेस नफुटोस्,’ रिजालले भनेका छन्।
उनले अहिले भने नेपाली कांग्रेस आफैं विभाजनको अवस्थामा पुगेको दाबी गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा जीवनको उत्तरार्द्धमा छुट्टै पार्टी गठन गर्ने मनस्थितिमा रहेको उनको दाबी छ।
रिजालले विगतमा देउवाले गठन गरेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) अन्ततः तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको नेपाली कांग्रेसमा नै समाहित भएको प्रसंगसमेत उल्लेख गरेका छन्।
‘आज कांग्रेस विभाजनको डिलमा उभिएको छ। शेरबहादुर देउवा जीवनको उत्तरार्द्धमा अलग्गै पार्टी बनाउने मुडमा हुनुहुन्छ,’ उनले लेखेका छन्, ‘रगत–बखत भएको बेला बनाएको प्रजातान्त्रिक कांग्रेस त गिरिजाप्रसाद कोइरालालाई नै बुझाउनुपर्यो भने अब के पार लाग्ला र?’
रिजालको टिप्पणी कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र नेतृत्वसम्बन्धी बहसको सन्दर्भमा आएको हो। उनले कांग्रेसको सम्भावित विभाजनलाई लिएर आफ्नो धारणा सार्वजनिक गर्दै विगतका राजनीतिक घटनाक्रमसँग तुलना गरेका हुन्




